पीडामा बाँचेको प्रेम
ओमप्रकाश भट्टः 'प्रेम केवल सुख र हाँसोमा मात्र बाँच्छ र, समीर? यसको वास्तविक आयु त विछोडको पीडाले निर्धारण गर्छ।'
आफ्नै नामसँगै सुदूरपश्चिमको आत्मीय सुगन्ध बोकेको त्यो वाक्य पढ्नेबित्तिकै समीर केही क्षणका लागि रोकियो। वर्षौँदेखि मनको कुनै कुनामा गाडिएर बसेको एउटा पुरानो स्मृति अचानक जाग्यो।
उसको मानसपटलमा धनगढीको त्यही पुरानो क्याम्पसको तस्बिर ताजा भएर आयो, जहाँ पहिलोपटक उसको भेट भावनासँग भएको थियो।
कञ्चनपुरको पुनर्वासकी भावना—हेर्दा कञ्चन नदीजस्तै शान्त, तर स्वभावले निकै गम्भीर। उनका आँखामा सधैँ केही न केही लेखिरहेको जस्तो लाग्थ्यो। उनी कविता र कथाहरू कोर्थिन्, अनि समीर तिनलाई स्थानीय पत्रिकाहरूमा छाप्न सहयोग गर्थ्यो।
त्यही सहकार्य कहिले मित्रता बन्यो, मित्रता कहिले प्रेममा बदलियो—उनीहरू दुवैलाई पत्तै भएन।
उनीहरू घन्टौँसम्म गोदावरीको चिसो हावा खाँदै भविष्यका सपनाहरू बुन्थे। कहिले अत्तरियाको चौतारीमा बसेर देउडा, साहित्य र जीवनका कुरा गर्थे। कहिले धनगढीका गल्लीहरूमा हिँड्दै आफ्ना मनका कुरा साट्थे।
भावना प्रायः एउटै कुरा दोहोर्याउँथिन्—
'समीर, मान्छेहरू दुःख र पीडाबाट भाग्छन्। तर मलाई लाग्छ, साँचो प्रेम त दर्दमा झन् बलियो र कसिलो हुन्छ। खुसीमा त जो पनि सँगै हाँसिदिन्छ नि! यो परदेशी मनको दर्दमा साथ दिने पो वास्तविक प्रेमी हो।'
समीर उनको कुरा सुनेर हाँसिदिन्थ्यो।
'तिमी पनि कस्तो-कस्तो दार्शनिक कुरा गर्छ्यौ, भावना! प्रेम भनेको त खुसी हुनुपर्ने कुरा हो।'
भावना मुस्कुराउँथिन्।
'एक दिन बुझ्नेछौ।'
त्यतिबेला समीरले उनको त्यो वाक्यलाई सामान्य ठट्टा ठानेको थियो। तर समय सधैँ आफूले चाहेझैँ कहाँ चल्दोरहेछ र?
सुदूरपश्चिमको परम्परागत समाज, जातभातका अदृश्य पर्खाल र परिवारको प्रतिष्ठाको दबाब उनीहरूको प्रेमभन्दा अग्ला भएर उभिए।
भावनाको विवाह कञ्चनपुरकै झलारीको एउटा हुनेखाने परिवारका युवकसँग तय भयो।
उनले विद्रोह गर्न सकिनन्। समीरले पनि उनलाई रोक्ने साहस जुटाउन सकेन।
दुवैको प्रेम थियो, तर त्यो प्रेमभन्दा ठूलो थियो—परिवारको डर, समाजको नजर र परम्पराको कठोरता।
जाखोर तालको खुला आकाशमुनि हुर्किएको उनीहरूको प्रेम अन्ततः सामाजिक पर्खालअगाडि हार्यो।
छुट्टिने दिन धनगढीको एक क्याफेमा उनीहरुको भेट हुन्छ, भावना धेरै बेर केही बोल्न सकिनन्। आँसुले भरिएका उनका आँखाहरूले समीरलाई हेरे। ओठहरू काँपे।
अन्ततः उनले सुदूरपश्चिमेली लवजमा बिस्तारै भनिन्—
'हाम्रो मिलन भाग्यमा नभए पनि, मेरो यो चोखो माया तिम्रो यादको सिरानीमा सधैँ जीवित रहनेछ, समीर।'
त्यसपछि उनी महेन्द्रनगरतिर कता हराइन्, समीरलाई कहिल्यै थाहा भएन।
समीर भने धनगढीको व्यस्त संसारमा हराउँदै गयो। उसले सानो किराना पसल चलाउन थाल्यो, दौडधुपले उसका दिनहरू भरिन थाले।
तर जति व्यस्त भए पनि उसको मनभित्र भावनाको सम्झना मेटिएन।
त्यो प्रेम अब कुनै उज्यालो सपना थिएन। बरु एउटा कडा चट्टानजस्तो दर्द थियो, जसलाई उसले वर्षौँदेखि मनभित्र बोकेर हिँडिरहेको थियो।
एक दिन उसको इमेलमा एउटा कथा आयो।
प्रेषकको नाम अपरिचित थियो।
तर कथा पढ्न थालेपछि शब्दहरू परिचित लागे।
अत्यन्त परिचित।
कथाको पात्रको नाम समीर थियो।
स्थानहरू उही थिए—धनगढी, गोदावरी, अत्तरिया, महेन्द्रनगर, शुक्लाफाँटा।
र कथामा वर्णन गरिएको प्रेम पनि त्यही थियो, जुन कुनै समय उसको जीवनको सबैभन्दा सुन्दर अध्याय थियो।
समीरको मुटुको धड्कन बढ्यो।
उसले कथा पढ्दै गयो।
अन्त्यमा लेखिएको थियो—
'म आज भौतिक रूपमा निकै टाढा छु। सायद अर्कैको आँगनको शोभा भएकी छु। तर मेरो भित्रको सर्जक र मेरो प्रेम आज पनि सुदूरपश्चिमका ती पुराना दिनहरूको दर्दमा सास फेरिरहेको छ। दिनेशखबरमा हरेक हप्ता नयाँ कथाहरू छापिँदा म तिम्रो नाम खोज्छु, समीर। यो कथा तिम्रो लागि हो—हाम्रो त्यो पवित्र प्रेमका लागि हो।'
त्यति पढिसक्दा समीरका औँलाहरू किबोर्डमाथि रोकिए।
उसले स्क्रिनबाट आँखा हटायो।
वर्षौँदेखि आफूले दबाएर राखेको पीडा अचानक आँखाबाट दुई थोपा आँसु बनेर किबोर्डमा खसे।
त्यो आँसुमा पछुतो थियो।
सम्झना थियो।
अधुरोपन थियो।
तर त्यसभन्दा बढी एउटा सत्य थियो—प्रेमको।
समीरले पहिलोपटक भावनाको त्यो पुरानो कुरा साँच्चै बुझे।
प्रेम सधैँ साथमा हुनुको नाम रहेनछ।
कहिलेकाहीँ प्रेम टाढिएर पनि बाँच्छ रहेछ।
कहिलेकाहीँ भेट नहुँदा झन् गहिरिँदो रहेछ।
र कहिलेकाहीँ विछोडको पीडा नै प्रेमको सबैभन्दा बलियो प्रमाण बन्दोरहेछ।
भावनाले समीरलाई आफ्नो जीवनमा पाउन सकिनन्। तर उनले त्यो अधुरो प्रेमलाई मर्न पनि दिइनन्।
उनले त्यसलाई शब्द बनाइन्।
कथा बनाइन्।
कविता बनाइन्।
र आफ्नो हृदयमा वर्षौँदेखि थुनिएको प्रेमलाई सिर्जनाको उज्यालोमा उतारिन्।
समीरले फेरि स्क्रिनतिर हेर्यो।
कथाको पहिलो हरफ उसकै आँखाअगाडि थियो—
'प्रेम केवल सुख र हाँसोमा मात्र बाँच्छ र, समीर? यसको वास्तविक आयु त विछोडको पीडा निर्धारण गर्छ।'
समीर मुस्कुरायो।
आँखामा आँसु अझै थियो।
तर त्यो आँसु अब पीडाको मात्र थिएन।
त्यसमा एउटा अधुरो प्रेमले वर्षौँपछि पाएको अर्थ पनि मिसिएको थियो।
उसले मनमनै भन्यो—
'हो भावना, तिमी सही थियौ। हाम्रो प्रेम मिलनमा होइन, यही दर्दमा जीवित रहेछ।'
बाहिर धनगढीको साँझ बिस्तारै गाढा हुँदै थियो।
गोदावरीतिरबाट आएको चिसो हावाले झ्यालको पर्दा हल्लायो।
समीरले आँखा बन्द गर्यो।
उसलाई लाग्यो—कतै टाढा डोटीका पहाडहरूबाट भावनाको आवाज आइरहेको छ।
'हाम्रो प्रेम अधुरो भए पनि, यसको कथा कहिल्यै अधुरो हुनेछैन।'
र साँच्चै, उनीहरूको प्रेमको अन्त्य विवाहमा भएन।
त्यो अन्त्य त एउटा कथाको सुरुवात बनेर बाँचेको थियो—दुःखमा, सम्झनामा, शब्दमा र त्यो कहिल्यै नमेटिने प्रेमको पीडामा।