सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका युवा अमृत थापा ‘अधुरो धुन: समयको सारङ्गी’ चलचित्रमा मुख्य नायक बन्दै 

२०८३ साउन १३, १२:०५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमको कला, संगीत र नृत्य क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका धनगढीका प्रतिभावान कलाकार तथा नृत्य प्रशिक्षक अमृत थापा अब राष्ट्रिय चलचित्रको मुख्य नायकका रूपमा दर्शकमाझ आउने भएका छन्। स्थानीय सांस्कृतिक मञ्च, म्युजिक भिडियो र विद्यालयमा नृत्य प्रशिक्षणबाट आफ्नो कला यात्रा सुरु गरेका थापाले बहुप्रतिक्षित नेपाली चलचित्र ‘अधुरो धुन: समयको सारङ्गी’ मा मुख्य भूमिकामा अभिनय गर्ने निश्चित भएको हो।

धनगढी तथा सुदूरपश्चिमका विभिन्न सांस्कृतिक महोत्सव, मेला तथा सांगीतिक कार्यक्रममा निरन्तर सक्रिय रहँदै आएका थापाले अभिनय र नृत्य दुवै क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका छन्। विभिन्न म्युजिक भिडियोमार्फत अभिनय क्षमता प्रदर्शन गर्नुका साथै उहाँले धनगढीका विभिन्न विद्यालयमा बालबालिकालाई नृत्य प्रशिक्षण दिँदै कला शिक्षाको क्षेत्रमा पनि उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्।

वर्षौंको निरन्तर मेहनत, अनुशासन र कलाप्रतिको समर्पणकै परिणामस्वरूप अमृत थापाले राष्ट्रिय स्तरको चलचित्रमा मुख्य नायक बन्ने अवसर प्राप्त गरेका हुन्। यस उपलब्धिलाई सुदूरपश्चिमका उदीयमान कलाकारहरूको लागि प्रेरणादायी उदाहरणका रूपमा हेरिएको छ।

अधुरो धुन : समयको सारङ्गी’ निर्माणको अन्तिम तयारीमा
प्याट टिम कलेक्सन फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘अधुरो धुन: समयको सारङ्गी’ को प्रि–प्रोडक्सन कार्य तीव्र रूपमा अघि बढिरहेको निर्माण पक्षले जनाएको छ।

आधुनिक डिजिटल युग, कर्पोरेट जीवनको व्यस्तता र परिवारभित्र बढ्दो संवादहीनताले सिर्जना गरेको मनोवैज्ञानिक द्वन्द्वलाई केन्द्रमा राखेर निर्माण हुन लागेको यस चलचित्रले नेपाली समाजको बदलिँदो यथार्थलाई कलात्मक ढंगले प्रस्तुत गर्ने लक्ष्य लिएको छ।

चलचित्रका निर्माता टिकाराम कट्टेल र एमटी थापा हुन्। कथा, पटकथा, संवाद, निर्देशन तथा शब्द–संगीत वेदप्रसाद भुर्तेलले तयार गरेका छन् भने मुख्य सहायक निर्देशकको जिम्मेवारी नवराज शर्माले सम्हालेका छन्। धनगढीस्थित होटल डिभोटी चलचित्रको हस्पिटालिटी पार्टनरका रूपमा आबद्ध रहेको छ।

सारङ्गीमार्फत संस्कृति र पुस्ताबीचको सम्बन्ध
चलचित्रमा ‘सारङ्गी’ लाई केवल एक सांगीतिक बाजाका रूपमा नभई हराउँदै गएको संवाद, पुस्तान्तरण हुँदै आएको संस्कृति र आधुनिक पुस्ताले आफ्नो पहिचान खोज्ने संघर्षको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ। कृत्रिम डिजिटल ध्वनिको सट्टा लाइभ वाद्यवादनलाई प्राथमिकता दिइएको यस चलचित्रको संगीत संयोजन फडिन्द्र राई र महाराज थापा ले गर्नुभएको छ, जसले कथाको भावनात्मक गहिराइलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

सुदूरपश्चिमका कलाकारका लागि प्रेरणाको कथा
धनगढीको माटोबाट आफ्नो सपना सुरु गरेका अमृत थापाको राष्ट्रिय चलचित्रसम्मको यात्रा संघर्ष, मेहनत र समर्पणको प्रेरणादायी उदाहरण बनेको छ। स्थानीय विद्यालयका विद्यार्थीलाई नृत्य सिकाउने शिक्षकदेखि राष्ट्रिय चलचित्रको मुख्य नायकसम्मको उहाँको यात्रा केवल व्यक्तिगत सफलता मात्र नभई सुदूरपश्चिमको कला र प्रतिभालाई राष्ट्रिय स्तरमा स्थापित गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा समेत हेरिएको छ।
 

कमेन्ट लोड गर्नुस