सुदूर नेपाललाई विश्वसँग जोड्दै

सञ्जय रानामाथि पोलीग्राफ परीक्षण गरिने

२०७६ भदौ २३, ०१:२१ खबर संवाददाता

चार थान पेस्तोल, करोडौँका दर्जन बढि तमसुक, चेक र दर्जनौ कार्यालय र व्यक्तिका नक्कली छाप सहित पक्राउ परेका सञ्जय रानामाथि पोलीग्राफ परीक्षण गरिने भएको छ। उनी संलग्न भएका अपराध र आफ्नो समूहका विषयमा उनले बताउन नमानेपछि रानामाथि पोलीग्राफ परीक्षण गरिने भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले रानाबाट सत्य कुरा पत्ता लगाउन पोलीग्राफको प्रयोग गर्ने प्रक्रिया अगाडी बढेको बताए। पोलिग्राफ परिक्षणका लागि प्रदेशमै छुट्टै टिम भएकोले परिक्षणको तयारी भईरहेको बताए। 

पोलिग्राफ ढाँटेको पत्ता लगाउन मेसिनका रुपमा चिनिन्छ। प्रहरीले अभियुक्तहरुलाई साँचो बोलाउन यसको प्रयोग गर्ने गरेको छ। पोलिग्राफ मेसिनले शरीरका अंगहरुको प्रतिक्रियाका आधारमा झुटो बोलेको पत्ता लगाउँछ। एकैपल्ट मुटुको चाल, रक्तचाप, श्वासप्रशवास र पसिना ग्रन्थीलगायत यसले रेकर्ड गर्छ।

पोलिग्राफको अर्थ नै एकैपल्ट धेरै शाररिक प्रतिक्रिया रकेर्ड हुनु भन्ने हो। शरीरका यी अंगहरुको प्रतिक्रियाका आधारमा उसले सही बोलिरहेको छ वा झुटो भन्ने थाहा हुन्छ। धनगढी उप–महानगरपालिका–६ मटियारीका सञ्जय राणा भनिने सञ्जय समशेर राना सोही ठाउँका कमल बहादुर बिक र वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीले उनीहरुको साथबाट चार थान पेस्तोल, तीन सय ७९ दशमलव ३६ ग्राम सुन, तमसुक र राष्ट्र बैंकका नक्कली कागजात समेत बरामद गरेको थियो। विभिन्न व्यक्तिका नाममा रहेका १८ करोड तीन लाख ६४ हजार बराबरका २३ थान तमसुक बरामद गरिएको थियो। विभिन्न व्यक्तिका नाममा काटेका र खाली गरि ५७ वटा चेक पनि बरामद गरिएको थियो भने दुई करोड ४५ लाख रुपैँयाका काटेका चेक बरामद गरिएको थियो। 

एक सय ६ करोड रुपैँयाको राष्ट्र बैंकको एउटै नक्कली चेक पनि बरामद गरिएको थियो भने् छाप र नक्कली पत्र तथा कागजाहरु पनि उनीहरुको साथबाट प्रहरीले बरामद गरेको थियो। नापी कार्यालय, मालपोत, राजश्व संगै सञ्चार मन्त्रालय, धनगढी उप–महानगरपालिका, गोदावरी नगरपालिका र विभिन्न विभागका छापहरु बरामद गरिएको हो भने राष्ट्र बैंकका गभर्नर सहित, कर अधिकृत, मालपोत अधिकृतको हस्ताक्षर छाप पनि बरामद गरिएको थियो। 

यस्तै पक्राउ परेका सञ्जय रानाको नाममा दुई वटा नागरिकता पनि भेटिएको थियो। 
 

कमेन्ट लोड गर्नुस