सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा मादक पदार्थ सेवन गरी वृद्धामाथि ढुङ्गा प्रहार

२०८३ साउन ११, ०८:३९ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरीमा मादक पदार्थ सेवन गरी एक युवकले वृद्ध महिलामाथि कुटपिट तथा ढुङ्गा प्रहार गरी घाइते बनाएका छन्।

अस्थायी प्रहरी पोस्ट ओलानीका अनुसार आइतवार राति १०ः३० बजेको समयमा गोदावरी नगरपालिका वडा नं. १० भागेश्वर कटाका २९ वर्षीय विक्रम लुहारले मादक पदार्थ सेवन गरी सामान्य विवादका क्रममा सोही ठाउँकी ७० वर्षीया मनसरा लुहारलाई ढुङ्गाले टाउकोमा हानेका थिए।

ढुङ्गा प्रहारबाट मनसराको टाउकोमा चोट लागेर घाइते भएकी छिन्। घटनाबारे जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट ओलानीबाट प्रहरी वरिष्ठ हवल्दार कैलाश खड्काको कमाण्डमा ३ जनाको प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो। प्रहरी टोलीले घाइते मनसरा लुहारलाई उद्धार गरी उपचारका लागि पद्मा अस्पताल अत्तरिया लगी उपचार भइरहेको छ।

प्रहरीका अनुसार घाइतेको अवस्था मध्यम रहेको र उनको साथमा उपचारका लागि उनका भाइ भरत विक रहेका छन्। कुटपिट तथा ढुङ्गा प्रहार गर्ने विक्रम लुहारलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाही तथा अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।

कमेन्ट लोड गर्नुस