सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाबाट भारत जोड्ने पक्की पुल निर्माणको योजना अलपत्र

टेण्डर रद्व भएपछि प्रक्रिया अगाडी बढेन

२०७६ भदौ २३, ०७:०७ खबर संवाददाता

दार्चुलाबाट भारत जोड्ने पक्की पुल निर्माणको योजना अलपत्र परेको छ। दार्चुला–भारत पक्की पुल निर्माणका लागि भारतीय पक्षले एक पटक टेण्डर समेत आह्वान गरेको थियो। तर उक्त टेण्डर रद्व भएपछि अहिले कुनै प्रक्रिया अगाडी नबढ्दा उक्त योजना अलपत्र परेको हो। 

दार्चुलाको महाकाली नगरपालिका–८ सुरकाडा र भारततर्फको बलुवाकोट नजिकको तल्लो छारछुम जोड्ने गरी पक्की पुल निर्माणका लागि टेण्डर भएको थियो।

‘भारत सरकारको लोक निर्माण विभागले पुलकोे डिजाइन र इस्टिमेट तयार गर्दै २४ करोड भारतीय लगानीमा पक्की पुल निर्माणको टेन्डर आह्वान गरिएकोमा अधित्तम बजेट नै कम भएको भन्दै टेण्डर रद्ध भएको थियो,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी संकर विष्टले भने, ‘टेण्डर रद्ध भएको पनि एक बर्ष वितिसकेको छ तर पुल निर्माणका लागि प्रक्रिया अगाडी बढेको छैन्।’

पुल निर्माणको विषयमा सीमा बैठकमा छलफल भएपनि प्रक्रिया अगाडी नबढेको उनले बताए। ‘पहिलो पटक आह्वान गरिएको टेण्डरमा प्राविधिक त्रुटी भेटिएपछि रद्ध भएको थियो,’ दार्चुलाबाट प्रतिनिधि सभा सदस्य गणेशसिंह ठगुन्नाले भने, ‘अव दोश्रो पटक टेण्डर आह्वानका लागि अहिले पहल भईरहेको छ।’

भारत सरकारले नै सो क्षेत्रमा पुल निर्माण गर्ने सहमती भईसकेकोले केही समय भित्रै फेरी टेण्डरको प्रक्रिया अगाडी बढ्ने उनले बताए। बैतडीको झुलाघाट, डडेलधुराको पर्शुराम क्षेत्र हँुदै दार्चुलाको तिंकर भञ्ज्याङसम्म कम्तीमा पनि ११ वटा पक्की पुल बनाउने सहमति गरेको थियो। 

भारतसँग सीमा जोडिएका दार्चुला, बैतडी र डडेलधुरामा भारतसँग आवागमनमा लागि अहिलेसम्म झोलुंगे पुल मात्रै छन्। तर, दार्चुलामा पक्की पुल बने सुदूरपश्चिमको पश्चिमी क्षेत्रको समृद्धिको ढोका खुल्ने अपेक्षा लिइएको थियो। पक्की पुल बने पश्चिम नेपालका लागि भारतसँगको व्यापार व्यवसाय र पारवहनको ढोका खुल्ने अपेक्षा लिइएको छ।
 

कमेन्ट लोड गर्नुस