सुदूर नेपाललाई विश्वसँग जोड्दै

लायन्स इन्टरनेशनलद्वारा स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा वृहत् सरसफाइ 

२०८३ साउन १०, १२:२० लक्ष्मण ढुङ्गाल

धनगढी:लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एन, नेपालअन्तर्गत धनगढी क्षेत्रका विभिन्न लायन्स क्लबहरूले संयुक्त रूपमा कैलालीको गोदावरी नगरपालिका–५ स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा वृहत् सरसफाइ अभियान सञ्चालन गरेका छन्।

शनिबार बिहान ८ बजेदेखि सुरु भएको अभियान एरिया नं. ५ को आयोजनामा ‘Serve to be Remembered’ भन्ने नारासहित सम्पन्न भएको हो। कार्यक्रममा लायन्स क्लबका पदाधिकारी, सदस्य तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सरसफाइ अभियानमार्फत विश्वविद्यालय परिसरलाई स्वच्छ, हराभरा र वातावरणमैत्री बनाउने उद्देश्य लिइएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षण, सार्वजनिक सम्पत्तिको संरक्षण तथा सामाजिक सेवाप्रति नागरिकको जिम्मेवारी बढाउन यस्ता अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए।

सहभागीहरूले सुदूरपश्चिमको गौरवका रूपमा निर्माण भइरहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबिबिएस अध्ययन र ३०० शैयाको शिक्षण अस्पताल सञ्चालनमा आएपछि यस क्षेत्रका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा सहज पहुँच पाउने अपेक्षा व्यक्त गरे।

आयोजकका अनुसार सरसफाइ अभियानले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै सामाजिक सेवामा नागरिकको सहभागिता बढाउने लक्ष्य राखेको छ।
लायन्स इन्टरनेशनलले सामाजिक सेवा, स्वास्थ्य, वातावरण संरक्षण, शिक्षा तथा मानवीय सेवाका क्षेत्रमा नियमित रूपमा यस्ता जनहितका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस