२० वर्ष कैद सजाय पाएका फरार कैदी प्रभु माझी रौतहटबाट पक्राउ
रौतहट: जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय पाएका फरार कैदी प्रभु माझीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने ३० वर्षीय माझी रौतहटको कटहरिया नगरपालिका–७ (साविक बगही गाविस–६) निवासी हुन्।
प्रहरीका अनुसार माझीले २०६८ फागुन २५ गते साँझ कटहरिया–७ स्थित वीरेन्द्र चौधरीको पोखरीको डिलमा ५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरी हत्या गरेका थिए। उक्त घटनामा सर्वोच्च अदालतले समेत उनलाई २० वर्ष कैद सजाय हुने फैसला सदर गरेको थियो।
माझी २०८२ भदौ २४ गते काठमाडौंसहित विभिन्न स्थानमा भएको ‘Gen-Z’ आन्दोलनका क्रममा गौर कारागारबाट फरार भएका थिए। त्यसयता उनी लुकिछिपी बस्दै आएका थिए।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलासका क्रममा २०८३ साउन ८ गते राति करिब ११:३० बजे कटहरिया नगरपालिका–७, बगहीबाट उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका माझीलाई बाँकी कैद भुक्तानका लागि पुनः कारागार कार्यालय गौर पठाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) बसन्त गौतमले जानकारी दिएका छन्।