सुदूर नेपाललाई विश्वसँग जोड्दै

डाक्टर केसीले भने झै के गेटामा तीन वर्षसम्म एमबिबिएसको पढाइ गर्न सकिन्न?

२०८३ साउन ८, ०४:५६ नारायण अवस्थी

धनगढीः तीन वर्ष अस्पताल सञ्चालन नगरी गेटामा चिकित्सा शिक्षा नपढाउन माग राखेर डाक्टर गोविन्द केसीले बिहीवारदेखि धनगढीमा अनशन थालेका छन्। चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनशन बस्ने गरेका डाक्टर केसीको यो २४ औं अनशन हो।

सरकारले चालु आर्थिक वर्षदेखि नै गेटामा चिकित्सा शिक्षा पढाउने तयारी थालेको छ। जसअनुसार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले चलाएको अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत ल्याउने काम भएको छ।

अनशनरत डाक्टर केसी भने एमबिबिएसको पढाइ सञ्चालन हुन तीन सय शय्याको अस्पताल तीन वर्ष चल्नुपर्ने बताएका छन्। उनले अनशन सुरु गर्नुभन्दा अगाडि पत्रकारहरुसँग कुराकानी गर्दै गेटामा आउने शैक्षिक सत्रबाट एमबिबिएसको पढाइ सुरू गर्न अस्पताल सञ्चालनको मापदण्ड नै नपुग्ने बताएका हुन्। ‘गेटामा ५० शय्याको अस्पताल सञ्चालनमा छ। पहिले तीन सय शय्याको अस्पताल पूर्ण रुपमा तीन वर्ष चलेको हुनुपर्छ, त्यसपछि मात्र चिकित्सा शिक्षा पठनपाठन गराउन सकिन्छ,' उनले भने, 'बिरामी नै छैनन्, आवश्यक पूर्वाधार नै छैन। यस्तो अवस्थामा एमबीबीएस पढाएर के हुन्छ? यस्तोमा गुणस्तर कायम हुँदैन।'

अस्पताल पूर्ण रुपमा सञ्चालन नभइकन चिकित्सा शिक्षा पढाउँदा समस्या आउने डाक्टर केसीको भनाइ छ। उनले भने, ‘अस्पताल पूर्ण क्षमतामा नचलाइकन, आवश्यक मात्रामा बिरामी अस्पतालमा नआइकन चिकित्सा शिक्षा पढाउनु जनताको स्वास्थ्यमा खेलवाड गर्नु हो।'

डाक्टर केसीले गेटामा ५० शय्याको अस्पताल स्वीकृत भएको बताएका छन्। तर तथ्य भने डाक्टर केसीले भनेको भन्दा भिन्न छ। सरकारले २०७९ जेठ ३१ गते नै गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठक सङ्ख्या ९/०७९ अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०७९ जेठ ३० को प्रस्तावअनुसार नेपाल सरकारले गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो। यही निर्णयका आधारमा अस्पताल पूर्वाधार तयार गर्न करिब एक अर्ब रुपैयाँ खर्चसमेत भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

सरकारले तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने निर्णय गरी विश्वविद्यालय ऐनअनुसार उक्त अस्पताल अहिले विश्वविद्यालयको शिक्षण अस्पतालमा रुपान्तरण भएको छ। तीन सय शय्याको अस्पताल चलाउने र पठनपाठन पनि सँगसँगै गर्ने तयारीमा विश्वविद्यालय लागेको छ। तसर्थ गेटामा हालसम्म ५० शय्याको अस्पताल मात्रै रहेको दाबी सत्य होइन। हो, अस्पतालमा बिरामी संख्या र पूर्वाधार भने अपुग रहेका छन्। पूर्वाधारको विकास गर्न सरकारले प्रयाप्त बजेट छुट्याएको छ। विश्वविद्यालयका अनुसार चालु आर्थिक वर्षमा अस्पताल सञ्चालन गर्न र पठनपाठन सुरू गर्न सरकारले दुई अर्ब ५३ करोड बजेट विनयोजन गरेको छ। यो बजेट शिक्षण अस्पताल र पढाइ सञ्चालन गर्न विनियोजन गरिएको हो।

ऐनमा के छ व्यवस्था?
सरकारले गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८२ निर्माण गरेको छ। उक्त ऐनको दफा २० मा शिक्षण अस्पताल सञ्चालन सम्बन्धी व्यवस्था छ। दफा २० को उपदफा (२) मा 'विश्वविद्यालयले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह अन्तर्गत सञ्चालित  अस्पतालसँग सम्झौता गरी त्यस्तो अस्पताललाई शिक्षण अस्पतालको रुपमा उपयोग गर्न सक्नेछ' भन्ने व्यवस्था छ। यो प्रावधानलाई टेकेर नै गेटामा फागुनदेखि सुरू हुने नयाँ शैक्षिक सत्रका लागि एमबिबिएसलगायतका अन्य विधामा विद्यार्थी भर्ना गर्न सकिने बताइएको छ।

तर पूर्वाधार र तयारीबिना पठनपाठन सुरु गर्दा चिकित्सा शिक्षा पढाउन नसकिने डाक्टर केसीको भनाइ छ। यसले गुणस्तरीय चिकित्सक उत्पादन नहुने उनको तर्क छ। तर गेटा विश्वविद्यालय ऐनमा भएको व्यवस्था र प्रदेश सरकारले तीन वटा प्रादेशिक अस्पतालमा क्लिनिकल अभ्यास गर्न दिन तयार रहेकाले क्लिनिकल अभ्यासमा समस्या नहुने तर्क विश्वविद्यालयको छ।

गेटामा एमबिबिएसको पढाइ सुरू गर्न सुदूरपश्चिम प्रदेश सरकारले समेत विश्वविद्यालयसँग सहकार्य गर्ने भएको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले २०८२ चैत ८ गते शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल र टीकापुर प्रादेशिक अस्पतालमा क्लिनिकल अभ्यास गर्न दिन सकारत्मक रहेको भन्दै पत्र लेखेको छ।

विश्वविद्यालयले गेटामा ५० सिट एमबिबिएस, बिएससी नर्सिङ ३० सिट, बिएससी एमएलटी र अप्टोमेट्रीमा २०/२० सिट अध्यापन गराउने तयारी थालेको छ। तर डाक्टर केसीले भने सुरूमा तीन सय शय्याको अस्पताल तीन वर्षसम्म चल्नुपर्ने र विश्वविद्यालयका उपकुलपति र रजिस्टारको नियुक्ति बदर हुनुपर्ने माग राखेका छन्।

डाक्टर केसीले राखेको माग पूरा भए २०८७ सालमा मात्रै गेटामा एमबिबिएसको पढाइ सुरू हुने देखिन्छ। यस्तै पदाधिकारी बरखास्त गर्नुपर्ने मागसमेत राखिएकाले अस्पताल सञ्चालन नै अनिश्चित हुने जोखिम बढेको भन्दै विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आपत्ति जनाएको छ। संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो) ले गेटाको विषयमा अगाडि सारिएका माग फिर्ता लिन डाक्टर केसीलाई आग्रह गरेका छन्।

उनले सुदूरपश्चिमको वर्षौंदेखिको सपना पूरा हुनै लाग्दा अनशन त्यागेर डाक्टर केसीले सहयोग गर्नुपर्ने बताए। 'गेटा विश्वविद्यालयका सन्दर्भमा डाक्टर केसीले राखेका मागमा कुनै पनि हालतमा सहमत हुन सकिन्न। उहाँले अभिभावक भएर सहयोग गर्नुपर्छ। गेटाका सन्दर्भमा राखिएका माग फिर्ता लिन र अनशन स्थगित गर्न हामीले आग्रह गरेका छौँ,' पाण्डेले भने,' सुदूरपश्चिमको सपनासँग जोडिएको विषयमा यदि सरकारले डाक्टर केसीका माग पूरा गरेमा हामी अनशन बस्न तयार छौँ।'

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस