बडीमालिकामा बाढी बस्तीमा पस्दा १३ परिवार सुरक्षित स्थानमा सारिए
धनगढी: बाजुराको बडीमालिका नगरपालिका–९ स्थित एक बस्तीमा बाढी पसेपछि १३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
सेलागाड खोला र बाउली खोलाको दोभान नजिकबाट आएको बाढी बस्तीमा पसेपछि जोखिममा परेका परिवारलाई बिहीबार रातिनै घरका आवश्यक सामानसहित उद्धार गरी सुरक्षित स्थानमा राखिएको बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराले जानकारी दिइन्।
डीएसपी बोहराका अनुसार उद्धार गरिएका १३ परिवारमध्ये तीन घर उच्च जोखिममा रहेका छन्।
जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ अनुसार बाजुराका १०० भन्दा बढी गाउँ बाढी तथा पहिरोको उच्च जोखिममा रहेका छन्।