सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्री चौधरीसँग जापानी राजदूत मायदाको भेटवार्ता

२०८३ साउन ७, ०२:४५ रासस

काठमाडौँः कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन्।

मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपालको कृषि क्षेत्रको विकास, आधुनिकीकरण र दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। त्यस अवसरमा मन्त्री चौधरीले सन् १९५४ देखिको महत्त्वपूर्ण र विश्वासिलो विकास साझेदारको रूपमा जापानले पुर्‍याएको सहयोगको प्रशंसा गर्दै नेपालको बागवानी विकास, बीउविजन सुधार परियोजनामा जापान सरकार र जाइकाले गरेको योगदानप्रति आभार व्यक्त गरे।

उनले व्यवस्थित क्षेत्रीय कृषि बजार निर्माण र उच्च प्रविधिको दुग्ध प्रशोधन प्लान्ट स्थापनाका लागि सहयोगको अपेक्षा गर्दै बीउविजन, जैविक विषादी र मिश्रित मल उत्पादनमा जापानी लगानी र प्रविधि भित्र्याउन पहलको अनुरोध गरे।
मन्त्री चौधरीले जापानमा रहेका तीन लाखभन्दा बढी नेपाली नागरिकले दुई देशको सम्बन्धलाई जनस्तरमै प्रगाढ बनाएको उल्लेख गर्दै राजदूत मायदाको कार्यकालमा नेपाल–जापान आर्थिक सहकार्य, व्यापार र लगानीले थप नयाँ उचाइ लिने विश्वास व्यक्त गरेका छन्।

उनिहरुबीच कृषि अनुसन्धान, कृषि अध्ययनरत विद्यार्थीहरूका लागि ‘लर्न एण्ड अर्न’ कार्यक्रम, धान खेतीमा यान्त्रीकीकरणलगायत आधुनिक कृषि प्रणालीमा सहकार्य गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस