महाकालीमा पानीको बहाव घटेसँगै शारदा ब्यारेजमा चारपांग्रे सवारी पुनः सञ्चालन
कञ्चनपुर: महाकाली नदीमा पानीको बहाव घटेपछि शारदा ब्यारेजस्थित बनबासा पुल बुधबार बिहानदेखि चारपांग्रे सवारी साधनका लागि पुनः सञ्चालनमा ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका अनुसार बुधबार साँझ ७ बजेसम्म गरिएको मापनमा महाकाली नदीमा पानीको बहाव ९९ हजार क्युसेकमा झरेको छ। नदीको बहाव निरन्तर घटिरहेको उनले जानकारी दिए।
यसअघि मंगलबार दिउँसो नदीमा पानीको बहाव १ लाख २४ हजार क्युसेक नाघेको थियो। बहाव १ लाख क्युसेकभन्दा माथि पुगेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै मंगलबार बिहानदेखि शारदा ब्यारेज पुलमा चारपांग्रे सवारी साधनको आवागमन रोकिएको थियो।
सय वर्षभन्दा पुरानो यो पुल जीर्ण अवस्थामा रहेकाले महाकाली नदीमा पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै सुरक्षाका कारण चारपांग्रे सवारी साधनको आवागमन अस्थायी रूपमा बन्द गर्ने गरिएको छ।