सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणबाट २४ जनाले ज्यान गुमाए, नियन्त्रणका प्रयास असफल

फाईल फोटो
फाईल फोटो
२०७६ भदौ २२, १०:५६ जनक विष्ट

बैतडीको तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिका वडा नम्बर २ टाणीखर्कका रामसिंह मडैका ८ वर्षीय छोरा सुदीप चितुवाको आक्रमणबाट ज्यान गुमाउने २४ औँ व्यक्ति रहेको स्थानीय प्रशासनले जनाएको छ। २०६८ साल देखि हाल सम्म तल्लोस्वराड क्षेत्रमा चितुवाको आक्रमणबाट २४ जनाले अकालमै ज्यान गुमाएपनि चितुवा नियन्त्रण नभएको हो।

चितुवालाई नियन्त्रण गर्न र मानव–वन्यजन्तु विचको द्धन्द्ध व्यवस्थापनका लागि भन्दै स्थानीय स्तरमा विगतदेखि नै विभिन्न खालका कार्यक्रमहरु सञ्चालन हुदै आएपनि रोकिन सकेको छैन्। जंगलको क्षेत्र विस्तार हुँदै जानु र मानव समुदाय बसाई सरेर तराईतर्फ झर्ने क्रम बढेपछि पनि मानव–वन्यजन्तुबिचको द्धन्द्ध व्यवस्थापन गर्न नसकिएको दावी गरिएको छ।

बैतडीका प्रमुख जिल्ला अधिकारी आन्नद पौडेलले तल्लोस्वराड क्षेत्रमा जंगलको क्षेत्रफल वर्षेनी विस्तार हुँदै गएको बताए। उनले तल्लोस्वराड क्षेत्रबाट बसाई सरेर तराईतर्फ झर्ने क्रम बढेसँगै जंगलको क्षेत्रफल विस्तार र चितुवाको संख्यामा समेत बृद्धि हुँदा आक्रमण नरोकिएको जनाए।

चितुवा व्यवस्थापन एवं नियन्त्रणका लागि विगतदेखि नै विभिन्न किसिमका प्रयासहरु हुँदै आएपनि पर्याप्त नभएको प्रमुख जिल्ला अधिकारी पौडेल स्वीकार गर्छन्। चितुवाको आतंक बढेपछि सरकारले मार्ने अनुमती दिएर यसअघि तल्लोस्वराड क्षेत्रमा टोली नै परिचालन गरेको थियो तर उक्त टोली चितुवा नभेटिएपछि फर्किएको थियो। चितुवाले बढिजसो साँझ र बिहानको समयमा आक्रमण गर्ने गरेको स्थानीयले बताउँदै आएका छन्।

पछिल्लो प्रदेश र स्थानीय सरकारले पनि चितुवा नियन्त्रणका कार्यक्रम सञ्चालन गरेपनि उपलब्धी नदेखिएको हो। तर पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले चितुवा नियन्त्रण गर्न प्रयास भईरहेको दावी गरे। चन्दले तल्लोस्वराड क्षेत्रमा विजुली नभएका कारण पनि साँझको समयमा चितुवा आतंक बढेकाले सौर्य बत्ति वितरण गरिदै आएको बताए भने विद्युत विस्तारका लागि समेत संघिय उर्जा मन्त्रालय र विद्युत प्राधिकरणलाई पटक पटक आग्रह गरिएको जिकिर गरेका छन्।

तल्लोस्वराड क्षेत्रमा पर्ने शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा विद्युतीकरण हुन नसकेका कारण अध्यारोमै दैनिकी बिताउनुपर्ने बाध्यता स्थानीयको छ। अध्याँरो भएका बेला घर बाहिर निस्कीएको समयमा चितुवाले आक्रमण गर्दै आएपनि विजुली विस्तारमा वास्ता नगरिएको हो।

प्रदेश सरकारले पनि चितुवा नियन्त्रणका लागि विभिन्न जनचेतना मुलक कार्यक्रम र सोलार वितरणमा ठुलो बजेट खर्च गरेको छ। यद्यपी चितुवाको आक्रमण अझै रोकिएको छैन्। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले भने ऐन कानून तर्जुमा गरेर द्धन्द्ध व्यवस्थापन गरिने दावी गरिन्।

तल्लोस्वराडमा चितुवाको आक्रमणबाट ज्यान गुमाउनेका परिवारलाई क्षतीपूर्ती र राहात स्वरुप सरकारले १० लाख दिदै आएको छ तर चितुवाको आतंक नियन्त्रणका लागि ठोस कार्यक्रम ल्याउन नसकेपछि स्थानीय चिन्तीत भएका छन् भने क्रास पनि फैलिएको छ।     
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस