स्थानीय तहमा असल अभ्यासः सामूहिक प्रयासबाट जैविक तटबन्ध निर्माण
कञ्चनपुर: नदी कटानको जोखिमलाई मध्यनजर गर्दै कञ्चनपुरको बेलौरी नगरपालिका–८ स्थित टिसिएन बस्तीमा स्थानीय समुदाय र सुरक्षा निकायको सक्रिय सहभागितामा जैविक तटबन्ध निर्माण गरिएको छ।
बाढी तथा नदी कटानको उच्च जोखिम रहेको उक्त क्षेत्रमा स्थानीय बासिन्दाको जीउधनको सुरक्षाका लागि पूर्वतयारीस्वरूप यो अभियान सञ्चालन गरिएको हो। निर्माण कार्यमा बेलौरी नगरपालिका विपद् व्यवस्थापन शाखा, स्थानीय बासिन्दा, सशस्त्र प्रहरी बल नेपाल तथा नेपाल प्रहरीको संयुक्त श्रमदान र सहकार्य रहेको थियो।
महँगा निर्माण सामग्री खरिद गर्नुको सट्टा स्थानीय रूपमा उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै वातावरणमैत्री जैविक तटबन्ध निर्माण गरिएको छ। यसले लागत घटाउनुका साथै स्थानीय स्रोतको प्रभावकारी उपयोग र दिगोपनलाई समेत प्रवद्र्धन गरेको छ।
सामूहिक प्रयास र विपद् पूर्वतयारीको उत्कृष्ट उदाहरणका रूपमा रहेको यस पहलले टिसिएन बस्तीलाई सम्भावित बाढी तथा नदी कटानको जोखिमबाट सुरक्षित बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। विपद् जोखिम न्यूनीकरणमा स्थानीय तह, समुदाय र सुरक्षा निकायबीचको समन्वय र सहकार्यलाई अनुकरणीय अभ्यासका रूपमा हेरिएको छ।