सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउने सोमबारमा शिवालयमा महिला भक्तजनको घुइँचो

२०८३ साउन ४, १२:०१ लक्ष्मण ढुङ्गाल

धनगढीः साउन महिनाको पहिलो सोमबारका अवसरमा देशभरका शिवालयमा बिहानैदेखि व्रतालुहरूको उल्लेख्य भिड लागेको छ। विशेषगरी विवाहित तथा अविवाहित महिलाहरू भगवान् शिवको पूजा–आराधना गर्दै परिवारको सुख–समृद्धि, सन्तानको दीर्घायु र मनोकामना पूरा हुने विश्वासका साथ व्रत बसेका छन्।

हिन्दू धर्मावलम्बीहरूका लागि साउन महिना अत्यन्त पवित्र मानिन्छ। धार्मिक मान्यताअनुसार माता पार्वतीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न कठोर व्रत बसेकी थिइन्। सोही विश्वासलाई निरन्तरता दिँदै आज पनि महिलाहरू पार्वतीकै अनुकरण गर्दै साउने सोमबारको व्रत बस्ने परम्परा कायम छ।

विवाहित महिलाहरूले श्रीमानको दीर्घायु, पारिवारिक सुख–समृद्धि र सन्तानको उज्ज्वल भविष्यको कामना गर्दै व्रत बस्ने गरेका छन् भने अविवाहित युवतीहरूले योग्य र असल जीवनसाथी प्राप्तिको कामनासहित भगवान् शिवको आराधना गर्ने गरेका छन्।

धनगढी–४ स्थित शिवपुरी धामका पुजारी हरिनारायण भट्टका अनुसार साउने सोमबारको व्रत महिला मात्र नभई पुरुष, बालबालिका तथा जो–कोही श्रद्धालुले पनि बस्न सक्छन्। उनका अनुसार बिहान ४ बजेदेखि नै शिवालयमा विशेष पूजा–आराधना, जलाभिषेक र दर्शन गर्ने भक्तजनको भिड लागेको छ।

साउन महिनाले धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक परम्परालाई थप मजबुत बनाउने विश्वास गरिएको छ। यस वर्ष साउन महिनामा चार वटा सोमबार परेकाले प्रत्येक सोमबार शिवालयहरूमा यस्तै भक्तजनको चहलपहल रहने गरेको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस