सुदूर नेपाललाई विश्वसँग जोड्दै

लाइसेन्सको स्वास्थ्य जाँच अब सहज, जुनसुकै दर्ताप्राप्त चिकित्सकको प्रमाणपत्र मान्य हुने

२०८३ साउन ४, १०:०८ खबर संवाददाता

काठमाडौँः सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन आवश्यक स्वास्थ्य परीक्षण प्रक्रियालाई थप सहज, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन यातायात व्यवस्था विभागले नयाँ व्यवस्था अघि सारेको छ।

विभागले नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त गरेका कुनै पनि चिकित्सकले जारी गरेको स्वास्थ्य परीक्षणसम्बन्धी प्रमाणपत्रलाई मान्यता दिने व्यवस्था लागू गर्न सातै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयलाई अनुरोध गरेको छ।

सवारी अनुगमन, मापदण्ड तर्जुमा तथा सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेशमानसिं राईद्वारा असार ३२ गते जारी परिपत्रमार्फत उक्त अनुरोध गरिएको हो। विभागका अनुसार यो व्यवस्था मन्त्रिस्तरीय तहबाट जेठ १३ गते भएको निर्णयअनुसार कार्यान्वयनका लागि अघि बढाइएको हो।

विभागले हालको व्यवस्थाका कारण सेवाग्राहीले अनावश्यक भीडभाड, अतिरिक्त आर्थिक भार तथा सीमित समूहको संलग्नताबाट सिण्डिकेटजस्ता समस्या सामना गर्नुपरेको उल्लेख गरेको छ। नयाँ व्यवस्थाले ती समस्या न्यूनीकरण गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, एकरूप र पारदर्शी बनाउने विश्वास विभागको छ।

यससँगै स्वास्थ्य परीक्षण प्रणालीलाई व्यवस्थित र मर्यादित बनाउन विभागले नेपाल मेडिकल काउन्सिलसँग आवश्यक समन्वय पनि सुरु गरेको जनाएको छ। सोही क्रममा साउन १ गते काउन्सिललाई पत्राचार गर्दै मान्यता प्राप्त चिकित्सकहरूको आधिकारिक विवरण उपलब्ध गराउन अनुरोध गरिएको विभागले जनाएको छ।

कमेन्ट लोड गर्नुस