सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा भारी वर्षाको चेतावनी, प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

२०८३ साउन ३, ०३:५९ खबर संवाददाता

दार्चुला: जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मौसम पूर्वानुमानका आधारमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले सम्भावित अति भारी वर्षालाई मध्यनजर गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज पौडेलद्वारा जारी साउन २ गते सार्वजनिक गरेकाे सूचना अनुसार साउन २ गते शनिबार र ३ गते आइतबार मनसुनी गतिविधि थप सक्रिय हुने अनुमान गरिएको छ। यस अवधिमा देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको छ।

दार्चुलाका विभिन्न क्षेत्रमा बाढी, पहिरो, भू–कटान र गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले सम्भावित क्षति न्यूनीकरणका लागि प्रशासनले नागरिक तथा सम्बन्धित निकायहरूलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

प्रशासनले अत्यावश्यक कामबाहेक उक्त अवधिमा घरबाहिर टाढाको यात्रा नगर्न, विशेष गरी रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। साथै, नदी किनार, खोला तथा भीरपाखा जस्ता बाढी र पहिरोको उच्च जोखिम भएका क्षेत्रमा नजान पनि सचेत गराइएको छ।

नदी, खोला, खहरे नजिक तथा भीरमुनि रहेका बस्तीका बासिन्दालाई वर्षा भइरहेका बेला विशेष सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानतर्फ सर्न तयारी अवस्थामा रहन प्रशासनले अनुरोध गरेको छ।

विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्वयंसेवकसहित सम्बन्धित सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। साथै, सम्भावित सडक अवरोध तत्काल हटाउन डोजर, एक्साभेटर र लोडरजस्ता उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई भनिएको छ।

आपत्कालीन सम्पर्क नम्बरहरू:

 वर्षा तथा बाढीसम्बन्धी जानकारी: ११५५
 जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (DEOC): ११३४
 नेपाल प्रहरी: १००
 सशस्त्र प्रहरी बल: १११४
 जिल्ला प्रशासन कार्यालय: ९८५८७२७७७८ (प्रमुख जिल्ला अधिकारी) / ९८५८७२४६६६ (सहायक प्रमुख जिल्ला अधिकारी)
 जिल्ला प्रहरी कार्यालय: ९८५९२९४१११
 सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गण: ९८६०३४११७६

प्रशासनले कुनै पनि विपद् वा आपत्कालीन अवस्था देखिएमा तत्काल सम्बन्धित निकायमा सम्पर्क गर्न र अफवाहमा नलागी आधिकारिक सूचनालाई मात्र आधार बनाउन आग्रह गरेको छ।
 

कमेन्ट लोड गर्नुस