सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–८ को राधाकृष्ण टोलमा उच्च भोल्टेज लाइनमा बाँस ठोक्किँदा दुर्घटनाको जोखिम

२०८३ साउन ३, १०:५२ खबर संवाददाता

धनगढीः कैलाली। धनगढी उपमहानगरपालिका–८ अन्तर्गत राधाकृष्ण टोलमा रहेको उच्च भोल्टेज विद्युत लाइनमा बाँस तथा अन्य रूखका हाँगाहरू ठोक्किने समस्या बढ्दै गएपछि स्थानीय बासिन्दाले ठूलो दुर्घटनाको जोखिम रहेको भन्दै तत्काल समाधानको माग गरेका छन्।

स्थानीय कविश चौधरीका अनुसार विशेषगरी वर्षायाममा रातिको समयमा हावाहुरी चल्दा बाँस उच्च भोल्टेज लाइनमा छोइने गरेको छ। यसका कारण ठूलो आवाजसहित स्पार्क (सर्ट सर्किट) हुने, विस्फोटजस्तो अवस्था सिर्जना हुने तथा आगलागी वा मानवीय क्षति हुन सक्ने जोखिम बढेको उनको भनाइ छ।

समस्याको समाधानका लागि स्थानीयले पटक–पटक वडा कार्यालयमा जानकारी गराएको भए पनि वडा कार्यालयबाट यो आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भन्दै नेपाल विद्युत प्राधिकरणमा सम्पर्क गर्न सुझाव दिइएको चौधरीको गुनासो छ।

त्यसपछि नेपाल विद्युत प्राधिकरण, धनगढी वितरण केन्द्रमा पटक–पटक फोन तथा मौखिक रूपमा जानकारी गराई जोखिमपूर्ण रूख हटाउन वा आवश्यक परे केही समयका लागि विद्युत आपूर्ति बन्द गरी सुरक्षित रूपमा व्यवस्थापन गर्न अनुरोध गरिएको भए पनि हालसम्म सम्बन्धित कर्मचारी समस्या समाधानका लागि नआएको स्थानीयले बताएका छन्। कतिपय अवस्थामा यो आफ्नो जिम्मेवारी नभएको भन्दै गुनासोलाई बेवास्ता गरिएको आरोपसमेत स्थानीयको छ।

स्थानीयवासीले वडा कार्यालय र विद्युत प्राधिकरण दुवैले जिम्मेवारी एक–अर्कातर्फ पन्छाइरहेको भन्दै आफूहरू असुरक्षित महसुस गरिरहेको बताएका छन्। 'यदि सम्बन्धित निकायले समयमै ध्यान नदिने हो भने कुनै अप्रिय दुर्घटना भएपछि मात्र जिम्मेवार निकाय सक्रिय हुने हो?' भन्ने प्रश्न उनीहरूले उठाएका छन्।

स्थानीयको गुनासोबारे नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र समक्ष राख्दा वितरण केन्द्र प्रमुख इन्जिनियर सन्तोषप्रसाद पन्तले समस्या समाधान गर्ने बताएका छन्। उनले पानी नपरेको दिन विद्युत लाइन छुने रुखका हाँगा हटाउने बताएका छन्।

कमेन्ट लोड गर्नुस