एमाले उपाध्यक्ष विष्णु पौडेलबिरुद्ध दर्ता भयो सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड बराबरको बिगो माग
काठमाडौँः नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल विरुद्ध विशेष अदालत काठमाडौँमा बिहीबार सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले बिहीबार उनीविरुद्ध पुरक आरोप पत्र दर्ता गरेको हो।
विशेष अदालतका अनुसार मुद्दामा पौडेलसहित १० वटा कम्पनीहरूसहित १६ जनालाई प्रतिवादी बनाइएको छ। विशेष सरकारी वकिल कार्यालयले अदालतसमक्ष पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बराबारको बिगो माग गरेको छ। उनको एभरेस्ट बैँकमा रहेको खातामा मौज्दात ६ लाख ३४ हजार रुपैयाँ जफत गरिएको छ।
यसअघि नै अदालतमा दर्ता भइसकेको प्रतिवादी दीपक भट्टसमेतको सम्पत्ति शुद्धीकरणको मुद्दामा थप अनुसन्धान गरी अदालतमा विभागले पूरक अभियोग पत्र दर्ता गरेको हो।
पूर्वअर्थमन्त्री पौडेलमाथि व्यवसायी दीपक भट्ट लगायतलाई गैरकानूनी सम्पत्ति लुकाउन तथा छल्ने वातावरण मिलाइदिएको आरोप छ। सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम उनले यस कसूरमा मतियारको रूपमा काम गरेको अभियोग पत्रमा उल्लेख छ।
पूर्वअर्थमन्त्री पौडेलले पद र प्रभावको दुरुपयोग गरी ‘श्रीराम टोबाको उद्योग प्रालि’ को उच्च बजार मूल्य रहेको सेयरलाई अत्यन्तै न्यून मूल्यमा दीपक भट्टको कम्पनी ‘हिमालयन एसेस्ट म्यानेजमेन्ट प्रालि’ लाई दिलाउन सहजीकरण गरेको र त्यसबापत आर्थिक लाभ प्राप्त गरेको आरोप छ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा एमाले उपाध्यक्ष पौडेललाई गत असार ८ गते सुर्खेतबाट नियन्त्रणमा लिई काठमाडौँ ल्याइएको थियो।
विशेष अदालतबाट पटक-पटक म्याद थप गरी अनुसन्धान प्रक्रिया पूरा गरेपछि सरकारी वकिल कार्यालयले बिहीबार मुद्दा दायर गरेको हो।