सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरमा चोरी, लागुऔषध र सामाजिक विकृति नियन्त्रण गर्न विद्यार्थी संगठनको माग

२०८३ असार ३१, ०२:२९ खबर संवाददाता

टीकापुर: संयुक्त विद्यार्थी संगठन, टीकापुरले क्षेत्रमा बढ्दै गएका चोरीका घटना, लागुऔषध दुर्व्यसन तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधि नियन्त्रण गर्न इलाका प्रशासन कार्यालयसँग माग गरेको छ।

संयुक्त विद्यार्थी संगठनले बुधबार इलाका प्रशासन कार्यालय टीकापुरलाई ध्यानाकर्षण पत्र बुझाउँदै पछिल्लो समय चोरी, लागुऔषधको कारोबार तथा सामाजिक सञ्जालमार्फत चरित्रहत्या, गालीगलौज र अमर्यादित गतिविधि बढेको भन्दै चिन्ता व्यक्त गरेको हो।

ध्यानाकर्षण पत्रमार्फत विद्यार्थी संगठनले चोरीका घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन, लागुऔषध नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्न र सार्वजनिक स्थानमा सुरक्षा गस्ती बढाउन माग गरेको छ।

यस्तै, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट हुने साइबर अपराध, धम्की तथा व्यक्तिको चरित्रहत्या गर्ने गतिविधिमा संलग्नमाथि कडा कारबाही गर्न पनि आग्रह गरिएको छ।

विद्यालय, क्याम्पस र समुदायसँग सहकार्य गरी लागुऔषधविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गर्दै संगठनले शान्ति, सुरक्षा र कानुन कार्यान्वयनमा प्रभावकारी कदम चाल्न प्रशासनको ध्यानाकर्षण गराएको छ।

ध्यानाकर्षण पत्रमा अनेरास्ववियुका केन्द्रीय कमिटी सदस्य हरिश न्यौपाने, टीकापुर बहुमुखी क्याम्पस स्ववियु सभापति किनमाउन्द (किनम) टीकापुरे, वीरेन्द्र विद्यामन्दिर बहुमुखी क्याम्पस स्ववियु सभापति गोपाल खत्री र नेविसंघ इकाइ सभापति दिपेन्द्र कठायत लगायतको हस्ताक्षर रहेको छ।

कमेन्ट लोड गर्नुस