मुख्यमन्त्री शाहको अल्टिमेटमपछि एमाले मन्त्री बैठक छाडेर बाहिरिए
धनगढी- सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको राजनीतिक तनाव थप चुलिएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा सहभागी नेकपा(एमाले) का मन्त्रीहरूलाई ूकि राजीनामा दिनुस, कि बजेट पारित गर्न सहयोग गर्नुसू भन्ने स्पष्ट सन्देश दिएपछि एमालेका मन्त्रीहरू बैठकबाट बाहिरिएका हुन्।
मुख्यमन्त्री शाहले बजेट पारित गर्ने विषयमा छलफल गर्न बोलाएको बैठकमा सरकारमा रहेर पनि बजेट पारित प्रक्रियामा असहयोग गर्न नमिल्ने स्पष्ट धारणा राखेका थिए। उनले सरकारमा बस्ने हो भने बजेट पारित गर्न सहयोग गर्नुपर्ने र त्यसो गर्न नसक्ने भए पदबाट राजीनामा दिनुपर्ने बताएका थिए।
मुख्यमन्त्रीको उक्त अभिव्यक्तिपछि असन्तुष्टि जनाउँदै एमालेका मन्त्रीहरू बैठक बीचमै छाडेर बाहिरिएका स्रोतले जनाएको छ।
प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित गर्ने विषयलाई लिएर सत्ता गठबन्धनभित्र मतभेद बढिरहेका बेला मुख्यमन्त्रीको यो कडा सन्देशले राजनीतिक घटनाक्रम थप पेचिलो बनेको छ।
एमालेका मन्त्रीहरू बैठकबाट बाहिरिएसँगै सरकारको आगामी रणनीति र बजेट पारित प्रक्रियाले नयाँ मोड लिने अनुमान गरिएको छ। अहिले यस विषयमा एमालेले औपचारिक प्रतिक्रिया भने सार्वजनिक गरिसकेको छैन।