सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गेटास्थित स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त

२०८३ असार ३१, १२:४८ खबर संवाददाता

काठमाडौँः कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको छ।

सिफारिस समितिका संयोजक प्रा. डा. जयराज अवस्थीले सहकुलपति तथा सभाध्यक्ष एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलमार्फत सभामा सिलबन्दीमा रहेको नामसहितको प्रतिवेदन पेश गरेका थिए।

सभामा सहकुलपति तथा सभाध्यक्ष पोखरेलले सिलबन्दीमा सिफारिस भएका नाम वाचन गर्दै योग्यताक्रममा पहिलो नम्बरमा रहेका प्रा. डा. सुनिलकुमार जोशीलाई उपकुलपति तथा डा. भीमबहादुर चन्दलाई रजिष्ट्रार नियुक्त गरिएको जानकारी दिए।

मन्त्री पोखरेलले १० जना मेडिकल क्षेत्रकै विज्ञबाट गरिएको मूल्याङ्कनका आधारमा स्वच्छ, निष्पक्ष र पारदर्शी प्रक्रियामार्फत योग्यताक्रम निर्धारण गरी सिफारिस गरिएको बताउनुभयो। उहाँले नवनियुक्त पदाधिकारीको नेतृत्वमा विश्वविद्यालयमा यही वर्षदेखि पठनपाठनसहितका शैक्षिक तथा प्रशासनिक कार्य प्रारम्भ हुने विश्वास व्यक्त गरे।

नवनियुक्त उपकुलपति प्रा. डा. सुनिलकुमार जोशीले ‘इन्जुरी प्रिभेन्सन एन्ड सेफ्टी प्रोमोसन’ विषयमा विनायक मिसन विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको छ। उहाँ विभिन्न स्वदेशी तथा विदेशी विश्वविद्यालयमा प्राध्यापकका रूपमा कार्यरत रहनुका साथै यसै विश्वविद्यालयको संस्थापक कुलपतिका रूपमा पनि जिम्मेवारी सम्हालिसकेका छन्। अक्सफोर्ड विश्वविद्यालयको विभागीय सदस्यका रूपमा समेत कार्य गर्नुभएका जोशीले एमडी, एमफिल, पिएचडी, पिजिडिडी र एफआरएसपिएचलगायत शैक्षिक उपाधि हासिल गर्नुभएको छ। उहाँ चिकित्सा शिक्षासम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानमा सक्रिय छन्।

नवनियुक्त रजिष्ट्रार डा. भीमबहादुर चन्द विगत २५ वर्षदेखि स्वास्थ्य सेवा र स्वास्थ्य प्रशासन क्षेत्रमा क्रियाशील छन्। उनले अस्पताल व्यवस्थापनमा स्नातकोत्तर तथा विद्यावारिधि हासिल गरेका छन्। यसअघि उनी यही विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यका रूपमा कार्य गरिसकेका छन् भने नेपाल मेडिकल काउन्सिलको कार्यकारी परिषद् सदस्यका रूपमा पनि योगदान दिएका छन्।

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐनको दफा २५ अनुसार सिफारिस समितिले योग्यताक्रमसहित तीन जनाको नाम सिफारिस गर्ने र तीमध्ये योग्यताक्रममा पहिलो स्थानमा रहेका उम्मेदवारलाई नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ।

कमेन्ट लोड गर्नुस