बाजुरा र मुगु प्रहरीको संयुक्त अपरेशन: जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी गमगढीबाट पक्राउ
बाजुरा: जबरजस्ती करणी मुद्दामा वारदात मितिदेखि फरार रहँदै आएका एक प्रतिवादीलाई प्रहरीले मुगुबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार पक्राउ पर्नेमा मुगु जिल्लाको खत्याड गाउँपालिका वडा नं. ९, जामिरगाउँ बस्ने २२ वर्षीय राज बहादुर भण्डारी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुरासँगको समन्वयमा जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई असार २५ गते मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. २ स्थित गमगढी बजारमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
पक्राउ परेका भण्डारीलाई मुगु प्रहरीले बाजुराबाट खटिएको प्रहरी टोलीलाई बुझाएपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाजुरामा दाखिल गरिएको छ। उक्त जबरजस्ती करणी मुद्दामा भण्डारीमाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिएका छन्।