शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट
कैलालीः कैलालीको गोदावरी नगरपालिका-२ तेघरीका किसान रामचन्द्र भट्ट शीतलचिनी (मोरिङ्गा) को व्यावसायिक खेतीमा आबद्ध भई स्थानीय किसानका लागि प्रेरणाको स्रोत बनेका छन्। उनी व्यावसायिक उत्पादनलाई विस्तार गर्दै स्वरोजगार बनेका हुन्।
भट्टले एक बिघा आफ्नै जमिनमा व्यावसायिक रूपमा शिलतचिनीको खेती गरेका छन्। एक वर्ष अघिदेखि खेती गर्न सुरू गरेका उनले हाल खेतमा एक हजार दुघ भन्दा बढी बिरुवा लगाएका छन्। अझै आठ सय बिरुवा रोप्ने उनको योजना छ।
भट्टको खेत अवलोकन गर्न दिनहुँ स्थानीय किसान पुग्ने गरेका छन्। परम्परागत खेतीसँगै उनले गरेको शीतलचिनीको व्यावसायिक उत्पादनबाट उत्प्रेरित भएको अवलोकनका लागि आउने किसानहरू बताउँछन्।
कम लागतमा उत्पादन गर्न सकिने, तुलनात्मक रूपमा कम स्याहार गर्नुपर्ने तथा बजारको माग पनि बढ्दै गएकाले शीतलचिनीको खेती सुरुआत गरेको भट्टले बताए। करिब दुई लाख लगानीमा व्यवसाय सुरु गरेका उनले बजारको माग बढ्दै गएकाले खेती विस्तार गर्ने योजना बनाएको बताए।
'पोषकतत्वले भरिपूर्ण मानिने शीतलचिनी सुरुमा यसको उपयोगिताबारे धेरैलाई जानकारी थिएन', भट्टले भने, 'पछिल्लो समय यसको फाइदाका बारेमा सबै जानकार हुन थालेपछि बजारमा माग बढन थालेको छ। यसको अझै प्रचारप्रसार हुन सक्यो भने व्यवसायले बजार पाउने सम्भावना अझै बढी हुनेछ।'
भट्टले शीतलचिनीका पातबाट पाउडर बनाई प्याकेजिङ गरेर बिक्री गर्दै आएका छन्। दुई सय १० ग्रामको खुद्रा मूल्य सात सय रुपैयाँ र होलसेल मूल्य चार सय रुपैयाँ रहेको जनाउँदै यसको बिक्रीबाट करिब ७० प्रतिशत फाइदा हुने उल्लेख गरे। उनका अनुसार उत्पादित शीतलचिनीको पाउडर कैलालीको धनगढी, अत्तरिया, काठमाडौँ, पोखरालगायत स्थानमा बिक्री हुने गरेको छ।
शीतलचिनी कम पानीमा पनि राम्रोसँग हुर्कने भएकाले तराई क्षेत्रका किसानका लागि उपयुक्त बाली मानिन्छ। यसको नियमित हेरचार गरेमा वर्षौंसम्म उत्पादन लिन सकिने भएकाले लागत पनि तुलनात्मक रूपमा कम पर्ने भट्टले बताए।
कृषिविज्ञका अनुसार शीतलचिनीमा भिटामिन, क्याल्सियम, आइरन, प्रोटिन प्रशस्त हुने भएकाले यसको उपयोगिता दिनप्रतिदिन बढ्दै गएको छ। यो बहुउपयोगी औषधीय तथा पोषणयुक्त बिरुवा हो। यसको पात, फूल, कोसा, बिउ र जरासमेत विभिन्न प्रयोजनमा प्रयोग गरिन्छ।