सुदूर नेपाललाई विश्वसँग जोड्दै

आत्मदाह प्रयास गरेका गणेश नेपालीको वीर अस्पतालमा उपचारकै क्रममा निधन

२०८३ असार २६, १२:५४ खबर संवाददाता

काठमाडौं: आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार सघन उपचारमा रहेका नेपालीको स्वास्थ्य अवस्था लगातार जटिल बन्दै गएपछि उनको मृत्यु भएको हो।

यसअघि वीर अस्पतालले पत्रकार सम्मेलन गरी नेपालीको अवस्था अत्यन्तै गम्भीर रहेको र जुनसुकै बेला थप जटिलता आउन सक्ने जनाएको थियो। चिकित्सकहरूले उनको स्वास्थ्यबारे निश्चित रूपमा केही भन्न नसकिने अवस्था रहेको बताएका थिए।

अस्पतालका अनुसार नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। आगलागीका कारण अनुहार र श्वासप्रश्वास नलीमा समेत गम्भीर क्षति पुगेकाले उपचार निकै चुनौतीपूर्ण बनेको थियो। उनलाई अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

उपचारका लागि प्लास्टिक सर्जरी विभागका संयोजक डा. पीयूष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेष चिकित्सक टोली खटिएको थियो। टोलीमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मी सहभागी थिए।

नेपालीको अवस्था थप बिग्रिएपछि उनलाई उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारीसमेत गरिएको थियो। तर स्वास्थ्य अवस्था स्थिर नभएकाले स्थानान्तरण सम्भव नभएको अस्पतालले जनाएको थियो। चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद अन्ततः उपचारकै क्रममा उनको निधन भएको हो।
 

कमेन्ट लोड गर्नुस