धनगढी र लम्कीबाट २१ जना जुवाडे नगदसहित पक्राउ
धनगढीः कैलालीका दुई स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–५ तारानगरस्थित हरि प्रसाद पडालको घरमा जुवातास खेलिरहेको अवस्थामा हरि प्रसाद पडालसहित ७ जनालाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट नगद २५ हजार ४५० रुपैयाँ र ३ गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, लम्कीचुहा नगरपालिका–१ मोतिपुर बजारबाट गोपाल हमालको सपना नास्ता पसलबाट जुवातास खेलिरहेको अवस्थामा गोपाल हमालसहित १४ जनालाई पक्राउ गरिएको छ। उनीहरूको साथबाट नगद ५० हजार १६० रुपैयाँ र ९ गड्डी तास बरामद भएको प्रहरीले जनाएको छ। दुवै स्थानबाट पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।