अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचन: अध्यक्षका उम्मेदवार रमेश भट्टराईले गरे प्यानल सार्वजनिक
धनगढी: कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि असार २८ गते हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार रमेश भट्टराईले आफ्नो प्यानल सार्वजनिक गरेका छन्।
बुधबार अत्तरियामा आयोजित पत्रकार सम्मेलनमार्फत भट्टराईले आफ्नो नेतृत्वको प्यानल घोषणा गरेका हुन्। उनको प्यानलमा वरिष्ठ उपाध्यक्षमा लोकराज ओझा, वस्तुगत उपाध्यक्षमा वीरेन्द्र विष्ट, वाणिज्य उपाध्यक्षमा समीर गिरी, महासचिवमा गोकुल भट्ट, सचिवमा राजन सिजापति तथा कोषाध्यक्षमा दिपेन्द्र अवस्थी उम्मेदवार रहेका छन्।
त्यसैगरी सदस्य पदका लागि यादव भट्ट, लक्ष्मीराज ओझा, रमा कट्टेल र छत्र विकले उम्मेदवारी दिएका छन्।
प्यानल घोषणा गर्दै अध्यक्षका उम्मेदवार भट्टराईले व्यवसायीले भोग्दै आएका समस्या समाधान गर्न र बजारलाई चालायमान राख्दै अत्तरिया क्षेत्रमा व्यावसायिक वातावरण निर्माण गर्ने प्रतपवद्धता गरेका छन्।
उनले व्यवसायीहरुको हकहितको रक्षा गर्दै आइपर्ने सबै समस्या समाधान गर्न अत्तरिया उद्योग वाणिज्य संघलाई व्यवसायीको पक्षमा उभ्याउने बताए।
आफ्नो प्यानलको घोषणा गर्दै अध्यक्षका प्रत्यासी भट्टराईले निर्वाचित भएमा हरियाली गोदावरी, सफा गोदावरी अभियान सञ्चालन गर्ने, व्यवासयीका अधिकार र सम्मानको रक्षा गर्ने, उद्योग वाणिज्य संघको अतिक्रमित जग्गामा भोगाधिकार कायम गर्ने, उद्योग वाणिज्य संघ र विद्यालयबीच सहकार्य गर्ने, एक वडा, एक व्यवसायीसँग भेटघाट अभियान सञ्चालन गर्ने तथा बैंक तथा वित्तीय संस्थासँग नियमित सम्वाद गर्ने घोषणा गरेका छन्।
यस्तै, बजारको सुरक्षा गर्दै डिजिटल अत्तरिया अभियान चलाउने, हाम्रो बजार, हाम्रो गर्व अभियानको थालनी गर्ने, व्यवसायी परिवार छात्रवृत्ति योजना ल्याउने, महिला व्यवसायी सशक्तिकरण कोष खडा गर्ने, युवा स्टार्टअप प्रवर्द्धन गर्ने, उद्योग वाणिज्य संघमा व्यवसायी सहायत कक्ष स्थापना गर्ने, व्यवसाय विस्तार परामर्श सेवा विस्तार गर्ने घोषणा गरेका छन्।
यसैगरी, व्यवसायी सम्मान दिवस मनाउने, स्थानीय कृषि उत्पादनको वजारीकरण गर्ने तथा समितिका सबै बैठक प्रत्यक्ष प्रशारण गर्दै उद्योग वाणिज्य संघका हरेक गतिविधिमा पारदर्शिता कायम गर्ने बताइएको छ।
अत्तरिया उद्योग वाणिज्य संघको नेतृत्वका लागि चार प्यानल चुनावी प्रतस्पर्धामा उत्रिने भएका छन्। यसअघि अध्यक्षका अर्का उम्मेदवार कमल कडायतले पनि आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन्।
अत्तरिया उद्योग वाणिज्य संघमा हाल १ हजार २४ जना सदस्य आबद्ध छन्। संघको साधारणसभा असार २७ र २८ गते आयोजना हुने तय भएको छ भने नयाँ नेतृत्व चयनका लागि असार १५ गतेसम्म सदस्यता नवीकरण तथा नयाँ सदस्यता दर्ता गर्ने समयसीमा तोकिएको थियो।