कैलालीमा रक्तदाताको संख्या बढेपनि रगत अभावको समस्या कायमै
रक्त सञ्चार केन्द्र धनगढीका अनुसार कैलालीमा प्रति महिना छ सय पिन्ट सम्म रगतको आवश्यकता पर्ने गरेको छ। गत आर्थिक वर्ष २०७५÷७६ मा छ हजार तीन सय २१ पिन्ट रगत संकलन भएकोमा छ हजार दुई ६५ पिन्ट वितरण गरिएको थियो। उक्त अनुपातलाई नै आधार मान्ने हो भने एक महिनामा पाँच सय २२ पिन्ट रगत वितरण गरेको देखिएको छ।
कैलालीमा पछिल्लो समय रगत संकलनको क्रम बढेको भएपनि स्वास्थ्य संस्थाहरुमा रगत अभावको समस्या कायमै रहेको छ। बढिजसो दुलर्भ समूहको रगत अभाव हुने गरेको छ भने कहिले कही समान्य रुपमा पाईने रगतको समेत अभाव हुने गरेको छ।
रक्त सञ्चार केन्द्र धनगढीका प्रमुख धरणीधर पन्तले विगतको तुलनामा रक्तदाताहरुको संख्या बढेपनि उल्लेख बृद्धि गर्न भने नसकिएको बताए। पन्तले अहिले विभिन्न संघसंस्थाहरुले वार्षिक तथा अर्धवार्षिक रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको जनाए। तर नियमित रक्तदाताहरुको संख्या भने बढाउन नसकिदा समस्या हुने गरेको उनले बताए।
पछिल्लो साउन महिनामा मात्र विभिन्न संघसंस्थाहरुले आफ्नो वार्षिक क्यालेण्डर अनुसार आयोजना गरेका रक्तदान कार्यक्रमबाट झण्डै एक हजार पिन्ट रगत संकलन भएको छ। रक्त सञ्चार केन्दकबाट संकलन भएको दुई सय ९२ पिन्ट समेत गरेर एक हजार दुई ९२ पिन्ट मध्ये आठ सय ११ पिन्ट रगत वितरण भईसकेको छ। तर रक्त सञ्चार केन्द्रमा ओ पोजिटिभ र नेगेटिभ जस्ता दुर्लभ समूहको रगत अभाव रहेको छ।
विभिन्न रक्तदाता संघसंस्थाहरुले एकै पटक रक्तदान कार्यक्रम राख्ने गरेका करण धेरै रगत संकलन हुने र केन्द्रसँग ३५ दिन भन्दा बढि समय सम्म टिकाउन सक्ने प्रविधि नभएकाले कहिले कही खेर जाने समस्या पनि रहेको छ। त्यसैले रक्तदाता संघसंस्थाहरुले आफ्नो वार्षिक क्यालेण्डर अनुसार मात्र नभएर आवश्यकता परेका बेला रगत दान गर्न सकेमा केही हद सम्म अभाव हटाउन सकिने विश्वास लिईएको छ।
रक्त सञ्चार केन्द्र प्रमुख धरणीधर पन्तले वार्षिक तथा अर्ध वार्षिक रुपमा रक्तदान कार्यक्रम मार्फत रगत दान गर्दै आएका संघसंस्थालाई निरन्तर रक्तदान गर्न आग्रह गरिएको आएको बताए। उनले निरन्तर रक्तदान भए विरामीले स्वच्छ ब्लड पाउने र आवश्यकता सहजै पूर्ती गर्न सकिने बताए। रक्तदाताहरु ब्ढेपनि स्वास्थ्य संस्थाहरुमा रगतको अभाव कायमै रहनुमा स्वयमसेवी रक्तादाताहरुको संख्यामा बृद्धि नुहुनु र रक्त सञ्चार केन्द्रको फितलो व्यवस्थापनलाई पनि लिईएको छ।
७७ पटक सम्म रगत दान गरिसक्नुभएका धनगढीका पत्रकार दिपक उपाध्यायले नियमित रक्तदान गर्ने स्वयंम सेवीहरुको संख्यामा बृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताए। रक्त सञ्चार केन्द्र सञ्चालन गर्दै आएको नेपाल रेडक्रस सोसाईटीको फितलो व्यवस्थापनका कारण संकलन भएको रगतको समेत सदुपयोग हुन नसकेको आरोप लाग्ने गरेको छ।
निःशुल्क रुपमा संकलन गरिने रगत परिक्षणका नाममा शुल्क लिएर बिक्रि गर्दै आएको समेत आरोप लाग्ने गरेको छ तर नेपाल रेडक्रमस सोसाईटी धनगढी शाखाले भने केन्द्रलाई व्यवस्थित गर्दै लैजाने पहल भईरहेको दावी गरेको छ।
रेडक्रस सोसाईटी कैलालीका शाखाका सभापति उत्तम जोशीले अहिले प्रादेशिक स्तरको संरचना निर्माण भईरहेको बताए। एक वर्ष निर्माण अवधी तोकेर काम चलिरहेकाले संचरना बनेपछि अन्य प्रविधि समेत विस्तार गरी केन्द्रलाई व्यवस्थित बनाउँदै लैजाने जोशीले जनाए।
रक्त सञ्चार केन्द्रले एकै पटक धेरै संघसंस्थाले रक्तदान कार्यक्रम आयोजना गर्न थालेपछि संकलन भएको रगत समेत खेर जाने समस्या हटाउन चासो नै नदिएको आरोप लागेको छ। चेतनाको अभावका कारण रगतदान गर्नुपर्छ भन्ने भावनाको समेत विकास भईनसकेको दावी गरिदै आएको छ।