घर–घरमा स्वास्थ्य सेवा पुर्याउन प्रदेश सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री शाह
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गाउँ–गाउँ र घर–घरमा स्वास्थ्य सेवा पुर्याउनुपर्नेमा जोड दिनुभएको छ। शनिबार धनगढीमा आयोजित अन्तिम चरणसम्म स्वास्थ्य सेवा पुर्याउने विषयक प्रदेशस्तरीय सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले स्वास्थ्य जनताको आधारभूत आवश्यकता भएकाले प्रदेश सरकार स्वास्थ्य सेवाको पहुँच विस्तारमा प्रतिबद्ध रहेको बताएका हुन्।
उनले आफू मुख्यमन्त्री भएपछि पहिलो पटक सुदूरपश्चिमका पाँच वटा आधारभूत अस्पताललाई प्रादेशिक अस्पताल बनाउने विषय नीति तथा कार्यक्रममा समेटिएको उल्लेख गरे। तीमध्ये दुई वटा अस्पताल मापदण्ड पूरा गरी प्रादेशिक अस्पतालको रूपमा स्तरोन्नति भइसकेका छन् भने बाँकी तीन वटालाई मापदण्ड पूरा गराई विशेषज्ञ सेवा प्रवाह गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
मुख्यमन्त्री शाहका अनुसार आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तथा बजेटमा कैलालीको टीकापुर र सेती तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई स्तरोन्नति गरी एक सय शय्याको बनाउने योजना समेटिएको छ। साथै, जिल्ला अस्पतालहरूलाई २५ देखि ५० शय्यामा स्तरोन्नति गर्ने र प्रादेशिक अस्पतालहरूमा मिर्गौला डायलासिस सेवाको विस्तारका लागि प्रक्रिया अघि बढाइएको उनले बताए।
बिरामीको चाप र जनताको आवश्यकतालाई मध्यनजर गर्दै सूचना तथा प्रविधिको प्रयोगमार्फत स्वास्थ्य सेवा थप प्रभावकारी बनाइने उनको भनाइ थियो। स्वास्थ्य क्षेत्रको सुधार र विकासका लागि प्रदेश सरकार सधैँ संवाद र छलफलका लागि तयार रहेको उल्लेख गर्दै स्रोत–साधनको अभावका कारण केही काम अपेक्षित रूपमा अघि बढ्न नसकेको पनि उनले स्वीकार गरे।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक रमेश मलासीले प्रदेशमा सञ्चालनमा रहेका डिजिटल स्वास्थ्य प्रणालीबारे प्रस्तुतीकरण गरे। उनका अनुसार २० वटा नगरपालिकामा स्मार्ट स्वास्थ्य सामग्री प्रयोगमा छन् भने अछाम जिल्लाका पालिकामा समुदायमा आधारित स्वास्थ्य कार्यक्रम सञ्चालनमा रहेको छ। साथै, प्रादेशिक तथा जिल्ला अस्पतालहरूमा विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली, मोबाइल स्वास्थ्य सेवा प्रणाली र स्वास्थ्य विवरण विश्लेषण प्रणाली प्रयोगमा छन्।
आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा “स्वास्थ्यमा प्रविधि, समृद्धिमा गति” भन्ने नारासहित विशेषज्ञ चिकित्सक सेवाको पहुँच बढाउन टेलिफोन तथा अनलाइन माध्यमबाट स्वास्थ्य परामर्श सेवा सञ्चालन गर्ने, विद्युतीय चिकित्सकीय अभिलेख प्रणालीको विस्तार तथा व्यवस्थापन, एकीकृत स्वास्थ्य विवरण प्रणाली, विद्युतीय परिवार स्वास्थ्य परिचयपत्र, टेलिमेडिसिन र रोग वर्गीकरण कोड प्रणालीलाई थप सुदृढ बनाउने विषय समेटिएको जानकारी दिइयो।
बाजुराका बुढीनन्दा, बडिमालिका, बुढीगंगा र त्रिवेणी नगरपालिका तथा स्मार्ट स्वास्थ्यसम्बन्धी संस्थाको संयुक्त आयोजनामा धनगढीमा उक्त सम्मेलन आयोजना गरिएको हो। सम्मेलनमा बाजुराका चार पालिकाका जनतासँग डिजिटल माध्यमबाट स्वास्थ्य सेवा प्रवाहका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा सुदूरपश्चिमका स्वास्थ्य समस्या केवल रोगमा मात्र सीमित नभई दूरी, बाटो, समय र पहुँचसँग पनि गहिरो रूपमा जोडिएको विषय भएको औंल्याइएको थियो।
बडिमालिका नगरपालिका, बाजुराका नगरप्रमुख अमर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीसहित विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।