सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हतियार, सुन र करोडौँका तमसुक सहित पक्राउ परेका तीन जना सार्वजनिक

२०७६ भदौ १९, ०५:५२ खबर संवाददाता

धनगढीको चटकपुरबाट चार थान पेस्तोल, सुन र विभिन्न कागजात सहित पक्राउ परेका तीन जनालाई सार्वजनिक गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र जिल्ला प्रहरी कार्यालय कैलालीले बुधवार पक्राउ गरेका तीनै जनालाई आज सार्वजनिक गरेको हो। 

धनगढी उप–महानगरपालिका–६ मटियारीका सञ्जय राणा भनिने सञ्जय समशेर राना सोही ठाउँका कमल बहादुर बिक र वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारीलाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो। प्रहरीले उनीहरुको साथबाट चार थान पेस्तोल, तीन सय ७९ दशमलव ३६ ग्राम सुन, तमसुक र राष्ट्र बैंकका नक्कली कागजात समेत बरामद गरेको छ। 

विभिन्न व्यक्तिका नाममा रहेका १८ करोड तीन लाख ६४ हजार बराबरका २३ थान तमसुक समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक सुदिप गिरीले बताए। विभिन्न व्यक्तिका नाममा काटेका र खाली गरि ५७ वटा चेक पनि बरामद गरिएको उनले बताए। दुई करोड ४५ लाख रुपैँयाका काटेका चेक बरामद गरिएको हो। 

उनीहरुको साथबाट नक्कली चेक पनि बरामद गरिएको छ। एक सय ६ करोड रुपैँयाको राष्ट्र बैंकको एउटै नक्कली चेक पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। छाप र नक्कली पत्र तथा कागजाहरु पनि उनीहरुको साथबाट प्रहरीले बरामद गरिएको छ।

विभिन्न सरकारी कार्यालयका छापहरु बरामद गरिएको हो। नापी कार्यालय, मालपोत, राजश्व संगै सञ्चार मन्त्रालय, धनगढी उप–महानगरपालिका, गोदावरी नगरपालिका र विभिन्न विभागका छापहरु बरामद गरिएको हो भने राष्ट्र बैंकका गभर्नर सहित, कर अधिकृत, मालपोत अधिकृतको हस्ताक्षर छाप पनि बरामद गरिएको हो। 

यस्तै पक्राउ परेका सञ्जय रानाको नाममा दुई वटा नागरिकता भेटिएको छ। एउटा कैलाली र एउटा डोटीबाट उनले नागरिकता लिएको भेटिएको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक गिरीले लामो समयदेखिको प्रयासपछि उनीहरुलाई पक्राउ गर्न सफल भएको बताए। अहिले प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरु मिटर ब्याज र हातहतियारको कारोवारी भएको खुल्न आएपनि विस्तृत रुपममा अनुसन्धान गर्न बाँकी रहेको उनले बताए। ७ दिन म्याद थपेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पक्राउ परेका व्यक्ति र बरामद समानको विवरण 

 

 

 

को हुन राना ? 
डोटी केआईसिंह गाउँपालिका राना गाउँका सन्जय राणा भनिने सन्जय रानाको केही बर्ष अगाडी धनगढीको मट्यारीमै सामान्य घर थियो। उनको पारिवारिक अवस्था सामान्य नै थियो। एकाएक उनले मट्यारीमै आलिसान घर बनाए, कारमा हिड्न थाले, घाटीमा सुनको सिक्री लगाउन थाले र ठूला होटलहरुमा भोज भतेरको कार्यक्रम समेत आयोजना गर्न थाले।

देखिने गरि कुनै पनि कारोवारमा संग्लन नभएपनि उनको जिवनशैली एकाएक फेरियो, एकाएक धन सम्पत्ती जोडेपछि छिमेकमा चर्चाको विषय बन्ने गरेको थियो। छिमेकीले सोध्दा जग्गाको कारोवार गर्छु भन्दै उनी सहजै जवाफ दिन्थे। तर अहिले उनी पक्राउ परेपछि द्वन्द्वकालदेखि नै हतियारको कारोवारी रहेको श्रोतले जनाएको छ। 

अवैध हातहतियारको कारोबारका लागि उनले भारतमा पनि राम्रो सम्वन्ध बनाएको बुझिएको छ। यो क्षेत्रमा अपराधिक गतिविधिका लागि कसैलाई हतियार आवश्यक भए उनले नै विक्री गर्दै आएका थिए।

उनले यो बिचमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरुसंग उठबस र राम्रो सम्बन्ध पनि बनाएका थिए भने द्वन्द्वकालमा पनि तत्कालीन माओवादीका यस क्षेत्रका शिर्ष नेताहरुसंग उनले राम्रो सम्वन्ध बनाएको श्रोतले बतायो। 

श्रोत भन्छ, ‘उनी यो क्षेत्रकै ठूलो जग्गा दलाल समेत हुन्, सस्तोमा जग्गा खरिद गरेर, वरपरको जग्गा हड्प्नका लागि उनले धम्की दिने गरेका थिए।’ नक्कली कागजात बनाएर पनि उनले जग्गाको कारोवार गर्दै आएका थिए।

 

 

कमेन्ट लोड गर्नुस