सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारबाट २ करोड रुपैयाँ भुक्तानी नपाएको भन्दै उखु कृषक आन्दोलीत

२०७६ भदौ १९, ०१:१२ खबर संवाददाता

सरकारबाट २ करोडभन्दा बढी अनुदान रकम नपाएका कपिलवस्तुका उखु कृषकहरु आन्दोलित भएका छन्।  आर्थिक वर्ष २०७१/०७२ मा चिनी मिलमार्फत सरकारबाट पाउनु पर्ने अनुदान रकम अहिलेसम्म पनि नपाएको भन्दै बुधबार कृषकहरुले पूर्व पश्चिम राजमार्गको चन्द्रौटामा प्रदर्शन गरी ४ घण्टा सडक अवरुद्ध पारेका थिए। उखु कृषकहरुले दिउँसो १२ बजेदेखि ४ बजे सम्म यो सडक खण्ड अवरोध गरी धर्ना तथा प्रदर्शन गरेका थिए।

कृषकहरुले सरकारबाट आर्थिक वर्ष ०७१/०७२ मा पाउनु पर्ने २ करोड ४८ लाख २३ हजार रुपैयाँ अनुदान वापत भुक्तानी पाउन बाँकी रहेको किसान संघका अध्यक्ष अनुप चौधरीले बताए। देशभर चिनी मिलमा उखु बिक्री गर्ने कृषकहरुलाई सरकारले प्रति क्विन्टल २५ रुपैयाँ उखु प्रबर्दन खर्चवापत भुक्तानी दिने नीति भए यो रकम आफूहरुले ५ वर्ष बितिसक्दा पनि पाउन नसकेको अध्यक्ष चौधरीले बताए।

पटक–पटक रकम मागको पहल गरे पनि सरकारले आफूहरुको समस्याको सुनुवाई नगरेपछि बाध्य भएर आन्दोलित हुनु परेको अध्यक्ष चौधरीले बताए। आफ्नो माग पूरा नभए आफूहरु बाध्य भएर अनिश्चितकालीन राजमार्ग ठप्प पार्ने उनले चेतावनीसमेत दिए।

आर्थिक वर्ष ०७१/०७२ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय र कृषि मन्त्रालयले पालैपालो अर्थ मन्त्रालय भुक्तानीका लागि पत्राचार गरेको छ, अध्यक्ष चौधरीले भने, ‘तर अर्थ मन्त्रालयले हाम्रो रकम भुक्तानीका लागि कुनै चासो देखाएको छैन।’ कृषकहरुको यो समस्यालाई समाधान गर्न आफूले केन्द्रमा पहल गरिरहेको प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताए।

कमेन्ट लोड गर्नुस