कञ्चनपुरको लालझाँडी गाउँपालिकाद्धारा ४६ करोड बढीको बजेट पारित
कञ्चनपुरः कञ्चनपुरको लालझाँडी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ। सोमबार सम्पन्न २०औँ गाउँ सभाको दोस्रो बैठकले ४६ करोड ५ लाख ९ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक सँगै पारित गरेको हो।
गाउँपालिकाका अध्यक्ष निर्मल रानाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएसँगै उपाध्यक्ष सपना चौधरी रानाले आगामी आर्थिक वर्ष २०८३/०८४का लागि उक्त बजेट गाउँ सभामा प्रस्तुत गरेकी थिइन्। उपाध्यक्ष रानाले प्रस्तुत गरेको बजेटमा सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९ करोड ५३ लाख, सशर्त अनुदान तर्फ १५ करोड ४२ लाख, विशेष अनुदान २ करोड २० लाख, समपूरक अनुदानतर्फ २ करोड २९ लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ।
यसै गरी, सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान तर्फ ८५ लाख ६९ हजार, समपूरक अनुदान तर्फ ९५ लाख ४१ हजार, विशेष अनुदानतर्फ ६६ लाख ५० हजार रुपियाँ र प्रदेश सरकार शसर्त अनुदान तर्फ ७५ लाख रुपियाँको बजेट प्राप्त हुने अनुमान गरिएको छ। यस्तै सङ्घीय सरकारको राजश्व बाँडफाँड तर्फ ९ करोड ९९ लाख ४० हजार, प्रदेश राजश्व फाँडाफाँडबाट ३१ लाख ९ हजार, आगामी आर्थिक वर्षका लागि आन्तरिक राजश्व तर्फ एक करोड रुपियाँ अनुमान गरिएको छ।
प्रस्तुत बजेट अनुसार चालु खर्चतर्फ २५ करोड ७२ लाख ४९ हजार रुपियाँ र पुँजीगत खर्चतर्फ २० करोड ३२ लाख ६० हजार रुपियाँ विनियोजन गरिएको छ। कुल बजेटमध्ये विषयगत शाखा तर्फ जम्मा व्यय तीन करोड ५६ लाख ६० हजार रुपियाँ हुने अनुमान गरिएको छ। जसमध्ये अध्यक्ष विशेष पूर्वाधार विकास कार्यक्रम अन्तरगत एक करोड ५० लाख, स्वास्थ्य शाखाका लागि ७६ लाख तीन हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ।
६ वडा रहेका गाउँपालिकामा वडा नम्बर १ का लागि आगामी आवमा ४९ लाख, वडा नम्बर २ का लागि ३५ लाख ९१ हजार, वडा ३ का लागि ३५ लाख ६७ हजार, वडा ४ का लागि ४६ लाख २३ हजार, वडा ५ का लागि ३३ लाख ५९ हजार र वडा ६ का लागि २९ लाख ६० हजार रुपियाँ छुट्टाइएको छ।
शिक्षा, स्वास्थ्य, कृषि र ग्रामीण सडकलाई प्राथमिकतामा राखेर आगामी बजेट ल्याइएको गाउँपालिकााक प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले बताए। उनका अनुसार, सामाजिक सुरक्षा रकम बाहेकको ६ करोड ५ लाख ९ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक सँगै पारित भएको हो। लालझाँडी गाउँपालिका जिल्ला भर नीति तथा कार्यक्रम सार्वजनिकसँगै पारित गर्ने पहिलो भएको प्रमुख प्रशासकीय अधिकृत सार्कीको भनाइ छ।