धनगढीमा संघीय सरकारको बजेटमा निर्माण गरिएका करोडौंका संरचना प्रयोग विहिन
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधाजी धनगढीमा संघीय सरकारको बजेटमा निर्माण गरिएका करोडौंका संरचनाहरु निर्माण भएपनि प्रयोग विहिन भएका छन्। तराईका जिल्ला सदरमुकामलाई आर्थिक र व्यावसायिक केन्द्रका रुपमा विकास गरी आधुनिक सहरमा रुपान्तरण गर्ने योजना अनुसार निर्माण गरिएका करोडौँका संरचनाहरुको निर्माण महिनौ अगाडी सम्पन्न भएपनि प्रयोग विहिन भएका हुन्।
धनगढीमा जडिबुटी प्रशोधन केन्द्र, कनरी पार्क र थारु संग्रहालयको निर्माण कार्य सम्पन्न भईसकेको छ भने फुलवारीमा ज्येष्ठ नागरिक भवनको काम पनि अन्तिम चरणमा पुगेको छ। धनगढीकै उर्मामा निर्माण गरिएको जडिबुटी प्रशोधन केन्द्र उप–महानगरपालिकालाई गत फागुनमा नै हस्तान्तरण गरिएको भएपनि संञ्चालनमा आएको छैन् भने कनरी पार्क र थारु संग्रहालयलाई हस्तान्तरण गर्न बाँकी रहेको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यन्वयन इकाई धनगढी ईन्जिनियर श्यमचन्द्र बुढाथोकीले बताए।
उनका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर १५ मा कनरीमा पार्कको निर्माण सम्पन्न भएको साढे सात महिना पुगिसकेको छ। तर अहिले सम्म हस्तान्तरणको प्रक्रिया अगाडी बढेको छैन्।
उप–महानगरपालिकाकै वडा नम्बर १५ मा झण्डै साढे तीन करोड लगानीमा निर्माण गरिएको जडिबुटी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भएको एक वर्ष पुग्नै लाग्दा पनि संञ्चालनमा ढिलाई भईरहेको छ।
‘जडिबुटी प्रशोधन केन्द्र र पार्क सञ्चालनका लागि नीजि क्षेत्रसंग साझेदारी गर्न आशय पत्र प्रकाशन गरेका थियौँ,’ धनगढी उप–महानगरपालिकाका ईन्जिनियर द्धिजराज भट्टले भने, ‘पार्कका लागि एउटा मात्रै आवेदन प¥यो तर जडिबुटी प्रशोधन केन्द्रका लागि एउटा पनि परेको छैन्।’ नीजि क्षेत्रले चाँसो नदिएपछि अव सञ्चालनका प्रारुप बारे छलफल सुरु भएको उनले बताए।
धनगढीमा निर्माण गरिएको कनरी पार्क र जडिबुटी प्रशोधन केन्द्र संञ्चालनको लागि नीजी क्षेत्रलाई दिने भनेर आशयपत्र जारी गरिएको भएपनि ईच्छुक धेरै नदेखिएपछि सरकारी स्तरबाटै संञ्चालनको तयारी समेत भईरहेको छ।
संघीय सरकारकै बजेटमा धनगढी उप–महानगरपालिकाको वडा नम्बर ७ पटेलामा झण्डै तीन करोड लागतमा निर्माण सम्पन्न भएको थारु संग्रहालय संञ्चालनको लागि पनि प्रक्रिया अगाडी बढेको छैन्।
समुदाय स्तरबाट संञ्चालनको तयारी भईरहेको संग्रहालय पनि हस्तान्तरण हुन बाकी छ भने फुलवारीमा निर्माणाधिन अवस्थामा रहेको ज्येष्ठ नागरिक भवनको पनि भौतिक प्रगती ८५ प्रतिशत भएको छ। संघीय सरकारको साढे ६ करोड लगानीमा निर्माण भईरहेको उत्त भवनको काम अहिले प्रदेश मातहतको सहरी विकास कार्यालयले गरिरहेको छ।