सुदूर नेपाललाई विश्वसँग जोड्दै

लाम्पाटाका विस्थापित परिवार सुरक्षाकर्मी तैनाथ भएपछि घर फर्कन थाले

२०८३ असार ३, ०१:१७ खबर संवाददाता

धनगढीः बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका–३ लाम्पाटाका विस्थापित परिवार सुरक्षाकर्मी तैनाथ भएपछि घर फर्कन थालेका छन्।

गत जेठ ३ गते हुम्लाको खार्पुनाथ गाउँपालिकाका स्थानीयले लामापाटाका बासिन्दामाथि आक्रमण गर्दै कुटपिट गरेपछि करिब १० परिवार विस्थापित भएका थिए। घटनापछि उनीहरू एक महिनासम्म सोही गाउँपालिकाको गुम्बा क्षेत्रका आफन्तहरूकोमा आश्रय लिएर बस्न बाध्य भएका थिए।

सुरक्षाको अभावका कारण घर फर्कन नसकेका उनीहरूले सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय बाजुरासँग लगातार आग्रह गर्दै आएका थिए। जेठ ३० गते प्रशासनको पहल तथा गृह मन्त्रालय नेपालको निर्देशनअनुसार लाम्पाटामा संयुक्त सुरक्षा बेस क्याम्प स्थापना भएपछि उनीहरू पुनः घर फर्कन थालेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए।

यसअघि सीमा सुरक्षा तथा वन्यजन्तु चोरी–निकासी रोक्ने उद्देश्यले प्रदेश सरकारको करिब ४० लाख रुपैयाँ लागतमा अस्थायी प्रहरी चौकी निर्माण प्रक्रिया सुरु गरिएको थियो। तर सोही विषयलाई लिएर विवाद उत्पन्न भई हुम्ला पक्षका स्थानीयले प्रहरी चौकी निर्माण रोक्न खोज्दै आक्रमणसमेत गरेका थिए।

गत जेठ ३ गतेको आक्रमणमा मेपागार गुरुङ, लक्ष्मी गुरुङ, नरबहादुर गुरुङ र मीन कुँवर गम्भीर घाइते भएका थिए।

हाल लामापाटामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त बेस क्याम्प स्थापना भएपछि स्थानीयले सुरक्षाको अनुभूति गर्दै घर फर्कन थालेका हुन्।

अहिले सो क्षेत्रमा दुवै सुरक्षा निकायको संयुक्त टोली तैनाथ गरिएको छ, जसले शान्ति–सुरक्षा कायम गर्न सहयोग पुर्‍याइरहेको बताइएको छ।

कमेन्ट लोड गर्नुस