सुदूर नेपाललाई विश्वसँग जोड्दै

खप्तडमा पर्यटक आवास गृह निर्माणका लागि ५ करोड, यसै महिना ठेक्का हुँदै

२०७६ भदौ १८, ०७:०५ खबर संवाददाता

सुदूपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तडमा पर्यटक आवास गृह निर्माणका लागि ५ करोड निकासा भएको छ। नेपाल पर्यटन बोर्डले खप्तड क्षेत्रको विकासका लागि ५ करोड रुपैयाँ विनियोजन गरेकोमा गत असारमा मात्रै राष्ट्रिय निकुञ्जको कार्यालयलाई निकासा दिईएको हो। 

‘पर्यटकहरुको सुविधाका लागि डोटीको बीचपानीमा २० जनाका लागि र खप्तड मुख्यालय आसपासमा एक सय जना अट्ने आवास गृह निर्माणका लागि बजेट निकासा गरिएको हो,’ पर्यटन बोर्डका सदस्य कृष्णबहादुर महराले भने, ‘सुरुमा बोर्ड आँफैले बनाउने सोच बनाएको थियो, तर राष्ट्रिय निकुञ्ज बाहेक अन्य क्षेत्रबाट खप्तडमा संरचना निर्माणका लागि समस्या उत्पन्न हुने देखेपछि निकुञ्जलाई नै बजेट निकासा दिएका हौँ।’

उनले थपे, ‘बीचपानी र खप्तड मुख्यालयमा बास बस्ने तथा खाना खाने व्यवस्था नभएका कारण पर्यटकहरुले सास्ती खेप्नु परिरहेकोले बास बस्ने घर र भान्सा घर निर्माण गर्न लागिएको हो।’ पर्यटन बोर्डका सदस्य महराका अनुसार स्थानीय काठबाट भवन निर्माण गरिनेछ।

‘खप्तड पुगेका पर्यटकहरु खाने र बस्ने सुबिधा नपाएर आजित हुने गरेका छन्,’ सदस्य महराले भने, ‘आवास गृह निर्माण भएपछि खप्तडप्रतिको सोचाई नै फेरिने छ।’

यता राष्ट्रिय निकुञ्जका ईन्जिनियर सचिन न्यौपानेले यसै महिना ठेक्का प्रक्रियामा जाने तयारी भईरहेको बताए। ‘आवास गृह निर्माणको कार्य अगाडी बढाउन हाम्रो टिम आज खप्तड पुगिरहेको छ,’ उनले भने, ‘यहि महिना भित्र बोलपत्र आह्वानको सुचना प्रकासन हुन सक्छ।’

२० हजार पर्यटकले भ्रमण गरेको खप्तडमा खाने बस्ने उचित व्यवस्था भए आउँदो वर्षमा पर्यटकको सङख्या दोब्बरले बृद्धी हुने नेपाल होटल तथा पर्यटन व्यवसायी संघ सुदूरपश्चिमका अध्यक्ष दीपक खड्काले बताए। ‘खप्तड अहिले पनि पर्यटकको रोजाईमा छ,’ उनले भने, ‘समस्या बस्ने र खानका लागि नै हो, खानबस्न सुबिधा सहितको आवास गृह निर्माण भए दोब्बरले पर्यटक बढ्छन्।’
 

कमेन्ट लोड गर्नुस