कैलालीबाट १४ फरार प्रतिवादी पक्राउ
धनगढीः कैलाली प्रहरीले एकैदिन विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिवाना ठहर भई फरार रहेका १४ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार फैसला कार्यान्वयन अभियानअन्तर्गत मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले अदालतको फैसलाअनुसार कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका १४ जनालाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ परेका प्रतिवादीहरू विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका थिए। उनीहरूलाई अदालतको आदेशबमोजिम पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा बुझाइएको छ।
प्रहरीले अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादी खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइने जनाएको छ।