कञ्चनपुरमा ‘एन्फा कम्युनिटी कोर्स’ सुरु
महेन्द्रनगर: कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि ‘एन्फा कम्युनिटी कोर्स–२०२६’ सुरु भएको छ।
कञ्चनपुर जिल्ला फुटबल सङ्घको आयोजना र दोधारा चाँदनी नगरपालिकाको आर्थिक र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा पहिलो पटक ‘एन्फा कम्युनिटी कोर्ष’ सुरु भएको हो।
कञ्चनपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष गणेशबहादुर चन्दले कोर्स यही असार ४ गतेसम्म हुने बताए। उनले जिल्लामा रेफ्री प्रशिक्षण कार्यक्रम यसअघि विसं २०६०, २०७४ र २०८२ मा भएको बताए। फुटबलको आधारभूत विकास, प्रशिक्षक उत्पादन तथा खेलकुद क्षेत्रको क्षमता अभिवृद्धिका लागि यस प्रकारका कार्यक्रम सञ्चालन हुनुपर्नेमा उनको जोड छ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बाजुरा, डोटी तराईका कैलाली कञ्चनपुरलगायत विभिन्न क्षेत्रबाट इच्छुक प्रशिक्षार्थीहरुलाई समावेश गरिएको सङ्घले जनाएको छ।
जिल्लामा फुटबल खेलको विकास र प्रशिक्षक उत्पादनमा योगदान पुर्याउने उद्देश्यले सञ्चालन भइरहेको प्रशिक्षणमा सुदूरपश्चिमभरिका ४५ जना प्रशिक्षार्थी सहभागी छन्। प्रशिक्षकका एन्फाको प्राविधिक टोली खटिएको छ।