कैलालीमा निस्के घडियालका बच्चा
धनगढीः कैलालीमा दुर्लभ घडियालका बच्चा निस्केका छन्।
टीकापुर नगरपालिकास्थित पथरैया नदीमा घडियाल गोहीले बच्चा कोरलेको हो। पथरैया नदीमा यो वर्ष अहिलेसम्म एउटा घडियालको गुँडबाट बच्चा निस्केको संरक्षणकर्मी भोजराज ढुङ्गानाले जानकारी दिए। उनका अनुसार टीकापुर नगरपालिका–७, बैदी क्षेत्रमा एउटा माउ घडियालसँग ३० देखि ३२ वटासम्म बच्चा देखा परिरहेका छन्। गुँडमा दुई वटा अन्डा भने बिग्रेको अवस्थामा भेटिएको ढुङ्गानाले बताए।
पछिल्लो केही वर्षयता पथरैयासहित कैलालीको मोहना, कर्णाली नदीमा दुर्लभ घडियालले प्रत्येक वर्ष बच्चा निकाल्दै आएका छन्। अरू नदीमा गुँड परीक्षण गरिएको क्षेत्रमा भने अहिलेसम्म बच्चा देखा नपरेको जनाइएको छ। उनले भने, “पथरैया मोहना अन्य ठाउँमा पनि पोथी घडियाल देखिरहेकाले त्यहाँ गुँड हुन सक्ने अनुमान छ तर अहिलेसम्म बच्चा भने निस्केको देखिएका छैनन्।”
संरक्षणकर्मीका अनुसार गुँड बनाएर अन्डा दिनका लागि घडियालले तापक्रम, परिवेश र बालुवाको अवस्था सबै जाँच गर्ने गर्छ। चैतमा दिएको अन्डा फुटेर जेठ अन्तिमदेखि असार अन्तिमसम्म बच्चा निस्कन्छन् तर ढिलो भएमा बाढीका कारण अन्डा बिग्रिने जोखिम पनि हुन्छ। घडियाल गोहीले उपयुक्त तापक्रम भएको ठाउँमा बालुवा खनेर खाल्डो बनाउने र त्यसमा अन्डा दिएर पुर्ने गर्छ। ३० देखि ३२ डिग्री सेल्सियस तापक्रम भएको गुँडबाट ६० देखि ९० दिनभित्र अन्डा आफैँ फुटेर बच्चा निस्कन्छन्।
गुँडबाट निस्केका बच्चालाई माउले आहारविहार गराउने गर्दछन्। घडियालले यहाँ प्रत्येक वर्ष बच्चा कोरल्दै आए पनि थोरै मात्रै जोगिन्छन्। घडियालको धेरै जसो बच्चालाई मगर गोहीले मारेर खाइ दिने गरेको डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्षसमेत रहेका ढुङ्गानाले बताए। उनले भने, “यो क्षेत्रमा मगर गोही धेरै छन्। घडियालको धेरै जसो बच्चालाई मगर गोहीले नै खाइदिन्छन्। बल्लतल्ल जोगिएका बच्चालाई पनि बाढीले बगाउँछ। त्यसैले प्रत्येक वर्ष घडियालको धेरै बच्चा निस्के पनि सङ्ख्या स्थिर नै देखिन्छ।” राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले घडियाललाई संरक्षित सरीसृप वन्यजन्तुको सूचीमा राखेको छ।