सुदूर नेपाललाई विश्वसँग जोड्दै

होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून

२०८३ असार १, ०९:५० खबर संवाददाता

काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका उपपरराष्ट्रमन्त्रीले युद्ध अन्त्य गर्न र स्ट्रेट अफ होर्मुजबाट हुने यातायात पुनः सुरु गर्न प्रारम्भिक सम्झौता भएको बताएपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेर गत मार्च महिनायताकै सबैभन्दा न्यून बिन्दुमा पुगेको छ।

यो समाचार सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ३.५८ डलर अर्थात् ४.१० प्रतिशतले घटेर ८३.७५ डलरमा झरेको छ। त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्युटीआई) को मूल्य पनि प्रतिब्यारेल ४.०१ डलर अर्थात् ४.७२ प्रतिशतले घटेर ८०.८७ डलर कायम भएको छ। यसअघि गत शुक्रबार पनि यी दुवै किसिमका तेलको मूल्यमा तीन प्रतिशतभन्दा बढीको गिरावट आएको थियो।

मध्यस्थकर्ताको भूमिका खेलिरहेको देश पाकिस्तानका प्रधानमन्त्रीका अनुसार अमेरिका र इरानले आगामी शुक्रबार स्विट्जरल्यान्डमा एक समझदारीपत्रमा हस्ताक्षर गर्नेछन्। राष्ट्रपति ट्रम्पले आइतबार स्ट्रेट अफ होर्मुज क्षेत्र अब कुनै पनि शुल्कविना खुला रहने र इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नौसेनाको नाकाबन्दी पनि अन्त्य हुने बताएका छन्। इरानको अर्ध–सरकारी मेहर समाचार एजेन्सीका अनुसार सम्झौताको मस्यौदामा इरानी व्यवस्थापनअन्तर्गत ३० दिनभित्र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने उल्लेख छ।


केसीएम ट्रेडका मुख्य बजार विश्लेषक टिम वाटररले तेलको प्रवाह पुनः पुरानै अवस्थामा फर्किने सम्भावनालाई व्यापारीहरूले मूल्याङ्कन गर्न थालेकाले कच्चा तेलमा थपिएको भूराजनीतिक जोखिमको मूल्य अहिले तीव्र रूपमा घटिरहेको बताएका छन्। विश्वको कुल तेल र तरल प्राकृतिक ग्यास आपूर्तिको पाँचौँ हिस्सा ओगट्ने मुख्य मार्ग हर्मुज जलडमरूमध्ये तीन महिनाभन्दा बढी समयदेखि युद्धका कारण बन्द हुँदा विश्वले लाखौँ ब्यारेल तेल र ग्यास आपूर्ति गुमाइसकेको छ।

लगानीकर्ताहरूले पनि युद्धका कारण भएको क्षतिपछि पश्चिम एसियाका उत्पादकहरूले कति चाँडो तेल उत्पादन र निर्यात पुनः सुरु गर्न सक्छन् र यस क्षेत्रमा थप जहाजहरू प्रवेश गर्छन् कि गर्दैनन् भन्ने कुरालाई ध्यानपूर्वक हेरिरहेका छन्। कमोडिटिज रणनीतिकार विवेक धरका अनुसार यी अनिश्चितताहरूले यस वर्षको अन्त्यसम्ममा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ८० डलर पुग्ने पूर्वानुमानमा केही जोखिम देखाए पनि स्ट्रेट अफ होर्मुजबाट हुने तेलको प्रवाह युद्धपूर्वको तुलनामा ६० देखि ७० प्रतिशत मात्र पुगे पनि बजारलाई पुरानै अवस्थामा फर्काउन पर्याप्त हुनेछ।

इरानका उपपरराष्ट्रमन्त्री काजेम गरबाबादीले ६० दिनको युद्धविराम अवधिमा थप बृहत् सम्झौताका लागि वार्ता गरिने बताएका छन्। आईजी बजार विश्लेषक टोनी सिकामोरले आगामी ६० दिनको अर्को चरणको वार्ता र विशेष गरी आणविक पक्षका विषयमा रहेका अनिश्चितताहरूलाई हेर्दा कच्चा तेलको मूल्य तत्कालै योभन्दा बढी तल झर्ने सम्भावना कमै रहेको उल्लेख गरेका छन्।

कमेन्ट लोड गर्नुस