धनगढीमा भन्सार छलीका करिब ७९ हजार बराबरका सामान बरामद
धनगढीः कैलाली प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका करिब ७९ हजार रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ।
शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ त्रिनगर र वडा नम्बर १३ मोहनपुर क्षेत्रबाट बेवारिसे अवस्थामा रहेका अन्दाजी ७८ हजार ९२० रुपैयाँ बराबरका सामान फेला पारी नियन्त्रणमा लिएको हो।
बरामद सामग्रीमा सुर्ती, सुटपिस, स्याम्पु, साबुन, सिरप तथा विभिन्न किराना सामान रहेका छन्।
प्रहरीका अनुसार भन्सार छली गरी नेपाल भित्र्याइएका ती सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको हो। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।