बाजुरामा चुहिने भवनमा बिरामीको उपचार
जिल्ला अस्पताल बाजुरामा बिरामीको उपाचार पानी चुहिने कोठामा भइरहेको छ। पुरानो भवन भत्काएर नयाँ भवन निर्माण सुरु भएपछि रेडक्रसको पुरानो पानी चुहिने घरमा बिरामीको उपचार भइरहेको जिल्ला अस्पताल बाजुराका निमित्त प्रमुख डा. रोहित गिरीले वताए।
पुरानो १५ शैयाको अस्पताल भत्काएर ५० शैयाको अस्पताल निर्माण कार्य सुरु भएको छ, उनले भने, पुरानो भवन भत्काएपछि अर्को घरमा बिरामीको उपचारका लागि सर्नुपर्ने, घर नपाएर रेडक्रसको पुरानो घरमा उपचार भइरहेको छ।
एकातिर भवन चुहिने, अर्को तिर कोठा नहुदा भर्ना हुनुपर्ने बिरामीलाई घरमा पठाउने गरेको अस्पतालमा कार्यरत एमडिजिपि डाक्टर दुर्गा मर्हजनले वताए। बिरामी घरमा भर्ना गरेका छौ, उपचार गर्नमा मात्र अस्पताल आउने गरेको मर्हजनले वताए।
“कोठा अभाबमा सुत्केरी त्यहि कोठामा, टिभि लागेका त्यहि कोठामा अन्य सरुवा रोग भएका बिरामी पनि त्यहि एउटै ठाँउमा राख्ने गरेको महर्जन बताए”। नवजात शिशुले अस्पताल बाट सरुवा रोग लिएर घर जाने सम्भाबना बढेको स्वास्थ्यकर्मीले वताए।
पानी परेको दिनमा छाता, प्लाष्टिले छोपेर बिरामीको उपचार गर्नु परेको अनमि कल्पना उखेडाले वताईन्। बिरामी भर्ना गर्ने रेडक्रसको भवन हो, त्यो पानी परेको दिनमा पुरै चुहिने भएकाले बिरामीको उपचारमा समस्या भएको उनले वताईन्। बिरामीको चाप बढ्यो भने खुला चौरमा बिरामीको उपचार गर्नु भन्दा अरु बिकल्प नभएको स्वास्थ्यकर्मीले वताएका छन्।
हरेक दिन जिल्ला अस्पतालमा एक सय २० देखी एक सय ५० जना भन्दा बढि बिरामी आउने गरेको जिल्ला अस्पताल बाजुराको तथ्याङक रहेको छ। बिरामीलाई समयमै उपचार गर्न सकेका छैनौ, सुचना अधिकारी कुल रावलले भने, पुरानो भवन भत्काएर नयाँ निर्माण हुदै छ, पुरानो थोत्रा भवनमा उपचार भइरहेको छ।
जिल्ला अस्पतालमा अहिले बिरामीको चाप पनि निकै बढेको अस्पतालले जनाएको छ। उपचार गर्न आउने बिरामी मध्ये ४५ प्रतिशत बिरामीमा झडापखाला, आउँ र टाइफाइडको संक्रमण देखीने गरेको सुचना अधिकारी रावलले बताए। आफन्तको उपचारको लागि जिल्ला अस्पताल बाजुरामा पुगेका काशि नेपालीले भने, बिरामी भर्ना गरेको वार्डमा पानी परेको दिनमा भित्रै छाता ओढनु पर्ने बाध्यता रहेको छ।
नयाँ अस्पताल भवन निर्माणको जिम्मा डाँफे लोहनी, पिएस कम्पनीले पाएको छ। कम्पनीले २०७५ बैशाख ५ गते सम्झौता गरेको थियो। २०७८ बैशाख ५ गते सम्पन्न गर्ने गरि २६ करोड ११ लाख ६१ हजार ३ सय ३९ रकममा ठेक्का पाएको थियो।