सुदूर नेपाललाई विश्वसँग जोड्दै

हुनैनाथ र समलघाँटको भूमि श्रद्धा र रहस्य

२०८३ जेठ २८, ०५:१०

मान सिंह धामी, दार्चुला: दार्चुला जिल्ला मालिकार्जुन गाउँपालिका हुनैनाथ -४ औतालेकमा अवस्थित प्रशिद्ध मन्दिर हुन्शिखरकाे चमत्कारीक महिमाहरू मध्ये याे लेखमा समलघाँट प्रसङ्गलाई जाेड्न गइरहेकाे छु ।

प्राचीन कालमा औल्लेकमा हुन्शिखरकाे अवतार भई मूल मन्दिर समेत निर्माण भइ यहाँका जनमानसमा हुन्शिखर प्रतिकाे श्रद्धा, भक्ति र विश्वासले गर्दा भक्तजनबाट देव पूजन गर्ने र मनाेवाञ्छित फल प्राप्तहुने जनविश्वास रहेकाे थियाे र अहिले पनि साे विश्वास कायमै रहेकाे छ ।

प्राचीन कालमा हंश राज भट्टका सन्तान भाटहुँदै हाल औल्लेकी धामीहरू र अन्य छिमेकीहरू हाम्राे मित्र राष्ट्र भारतकाे अल्माेडा बजार गएर घरकाे लागि चाहिने अत्यावश्यकीय सरसामानहरू (लत्ता कपडा, नून, तेल भाँडाकुँडा आदि) ल्याउने गर्दथे र आफूसँग भएकाे भटमास घिउ, गुड लगायतका सामानहरूकाे बिक्री पनि गर्दथे । त्यस बेला अल्माेडालाई समल देश पनि भनिन्थ्याे ।

औल्लेकीहरूले आवश्यकीय सामनहरूकाे किनवेच गरेर घर फर्कने बेलामा आफ्नाे इष्टदेव हुन्शिखर देवतालाई उपहार स्वरुप घण्ट चढाउने भक्तिभाव जागेछ । घण्ट खरिद गर्न विभिन्न पसलहरू चहारेर बल्लतल्ल एउटा पसलमा हुन्शिखर देवतालाई चढाउन सुहाउनेखालकाे एउटा घण्ट फेला पारेछन् । पसलेसँग घण्टकाे माेलमाेलाई भएपछि उक्त घण्टकाे लागि आवश्यक रकम नपुग भएछ ।

औल्लेकीहरूले याे घण्ट हाम्राे देवतालाई सुहाउने खालकाे छ, याे घण्ट हामीलाई दिनुस, नपुग रकम हामी दाेस्राे पटक आउँदा चुक्ता गराैंला, घण्ट दिनुहाेस भनेछ । यदि सकिदैन भने अर्काे पटक आउँदा लगाैंला यसलाई अरुलाई नबेच्नु हाेला भनेर पसलेलाई अनुराेध गर्दा पसलेले रिसाएर देवताकाे धाक फुर्ति किन लगाउनु हुन्छ ? तपाईकाे देवताकाे लागि सुहाउने घण्ट हाे भने या त घण्टकाे पुरै पैसा चुक्ता गर ।

हैन भने तपाईकाे देवतालाई साँच्चिकै सुहाउने र तपाईकाे देवता साँच्चिकै शक्तिशाली छ भने देव शक्तिले आफै लगाेस । अन्यथा कुनै उपाय छैन, उधाराे दिन सकिदैन भनेछन् । पसलेले यति कुरा भन्दै गर्दा साँच्चिकै उक्त घण्ट जमिनबाट उठेर घन्घनी बज्दै आकास मार्ग हुँदै उडेर पूव दिशातिर लागेछ । यस्ताे अचम्मित चामत्कारिक दृश्य देखेर सबै जना छक्क परेछन् । सबैले हुनैनाथकाे स्तुति वन्दना गरेछन् ।

हुनैनाथकाे स्तुति !!!
पवित्र नाथ । प्रभु हुनैनाथ ।।
रानीवन छ मुन्तिर माथि मन्दिर !
काखमा छन् नरनारी हरे, मन्दिर छ टाकुरीमा !!
पथमा लाउँछाै भक्तलाई, समाई पाखुरीमा ! 
फुट्लिङ्ग हुन थापना हाेइन, मन्दिर हुनैनाथमा !!
पूर्णिमाकाे जून जस्तै मुकुट छ माथमा !
महिमा तिम्राे अपरम्पार, काेटी काेटी नमस्कार !!
हाम्राे इज्जत राखीदियाै, शक्ति भाे साकार !
(स्तुति वन्दना सामाजिक सञ्जालबाट साभार ) ।

तत्पश्चात उक्त घण्ट आकास मार्ग हुँदै बज्दै केही समय पछि औल्लेक गाउँकाे पारसिलामा अवतरण भएछ । उक्त चमत्कारी घाँट औल्लेकीहरूले देखेपछि सबैजना भेलाभइ उक्त घाँटकाे दर्शन गरि विभिन्न शंका उपशंका अडकलबाजी गर्न थालेछन् ।

केही दिन पछि समल देशबाट सामान किनेर औल्लेकी घर फर्केर सबै बृत्तान्त बताए पछि सबै नरनारीहरू नतमस्तक भइ आराध्यदेव हुनैनाथकाे जय जय कारगर्दै उनकाे महिमाकाे प्रशंसा गर्न थाले । समलदेशबाट उडेर बज्दै आएकाे उक्त घाँटलाई हाल सम्म पनि समलघाँट भनेर पुकारिन्छ । याे चमत्कारी अद्भूत शक्ति भएकाे घाँट (घण्ट) पारशिला मन्दिरकाे गव्यूरभित्र सुरक्षित रहेकाे छ ।

चमत्कारी शक्ति भएकै कारण सबैकाे लागि दर्शन गर्न खुला नराखिए पनि चाेखाे भाेकाे भइ उपवास बसेर शुद्ध तनमनले भेटी चढाएर दर्शन गर्न सकिने प्रचलन रहि आएकाे छ । 

याे आलेख तयार पार्ने क्रममा मैले सकेसम्म विभिन्न पुस्तकहरू, गुगल, यु ट्युव, इतिहासका जानकारहरू आदिसँग सम्पर्क गरेर याे लेख तयार पारेकाे व्यहाेरा अनुराेध गर्न चाहन्छु । पाठकज्यूहरूलाई थप जनाकारी भएमा उपलब्ध गराई सहयाेग गरीदिन हुन समेत विनम्र अनुराेध गर्न चाहन्छु ।

मान सिंह धामी (औल्लेकी)
उपप्राध्यापक, कैलाली बहुमुखी क्याम्पस धनगढी । 
ठेगानाः मालिकार्जुन गाउँपालिका हुनैनाथ-४ गाेठ्युडी (काेटबुङ्गा) दार्चुला

कमेन्ट लोड गर्नुस