'सनराइज र सुदूरपत्र अनलाइन' ले गरे दिनेशखबरमा प्रकाशित समाचारको खण्डन!
धनगढी: दिनेशखबरमा प्रकाशित समाचारको खण्डन र प्रतिरक्षा सनराइज टेलिभिजन र सुदूरपत्र अनलाइनले गरेका छन्। बुधवार दिनेशखबरमा प्रकाशित गेटा अस्पताल सम्बन्धी समाचारको खण्डन सनराइज टेलिभिजन र सुदूरपत्रले गरेका हुन्।
पत्रकार आचारसंहिता-२०७३ (पहिलो संशोधन, २०७६) को नियम १४ को (२) मा सामान्यत: कुनै एउटा सञ्चारमाध्यमबाट प्रकाशित वा प्रसारित समाचारको खण्डन पीडित पक्षले सोही सञ्चारमाध्यममार्फत गर्नुपर्दछ," भन्ने उल्लेख छ। तर सनराइज टेलिभिजन र सुदूरपत्र अनलाइनले दिनेशखबरको नामै तोकेर समाचार शिर्षकसहितको खबर सम्प्रेषण गरेका छन्।
दिनेशखबरमा "गेटा आँखा अस्पतालमा कर्मचारी–प्रशासनबीच बढ्दाे विवादको भित्री कथा" शिर्षकमा समाचार सामग्री प्रकाशन भएको थियो। उक्त समाचारको सनराइज टेलिभिजन र सुदूरपत्र अनलाइनले "गेटा आँखा अस्पताल प्रशासनले आफू जोगिन लियो ‘दिनेश खबर’को सहारा" शिर्षकमा खण्डन प्रकाशित गरेका हुन्।
दुबै सञ्चार माध्यमले उहीँ हेडलाइनमा अनलाइन र भिडियो सामग्री सम्प्रेषण गरेका छन्।
समाचारमा कैलालीको गेटा आँखा अस्पतालमा पछिल्लो समय देखिएको विवाद र कर्मचारी आन्दोलनबीच अस्पताल प्रशासनले आफ्नो बचाउका लागि सञ्चारमाध्यमको सहारा लिएको जिकिर गरिएको छ । उक्त समाचारमा सनराइज टेलिभिजन र सुदूरपत्र अनलाइनले दिनेश खबरमा प्रकाशित समाचारमा अस्पतालका कर्मचारीले पाउँदै आएको सेवा-सुविधा, तलब, बीमा लगायतका विषयलाई प्रमुखताका साथ उल्लेख गरेको भन्दै चित्त दुखाएको जसरी समाचार सामग्री सम्प्रेसण गरेका छन्।
समाचारमा सहायक स्तरका कर्मचारीले मासिक ५५ हजार १६४ रुपैयाँसम्म तलब पाउने, अधिकृत तहका कर्मचारीले ५५ हजार ८९४ देखि ९० हजार ७६ रुपैयाँसम्म पारिश्रमिक बुझ्ने विवरण प्रस्तुत गरिएकोमा दुबै सञ्चार माध्यमले अस्वाभाविक ठानेको छनक दिएका छन्। साथै कर्मचारीहरूको जीवन तथा दुर्घटना बीमामा अस्पतालले ठूलो रकम व्यहोर्ने गरेको तथ्य समेटिएको कुरालाई कर्मचारी प्रशासनको पक्ष लिएको रुपमा चित्रण गर्न खोजेका छन्।
सनराइज टेलिभिजन र सुदूरपत्र अनलाइनले आन्दोलनरत कर्मचारी र केही स्थानीयले दिनेशखबरले प्रकाशित गरेको समाचारलाई प्रशासनको बचाउको प्रयासका रूपमा हेरेका छन् भन्ने दाबी गरिएको छ। सनराइज टेलिभिजन र सुदूरपत्र अनलाइनको समाचारमा कर्मचारीले उठाएका मुख्य प्रश्नहरू सुशासन, पारदर्शिता, नियुक्ति प्रक्रिया र संस्थागत व्यवस्थापनसँग सम्बन्धित रहेको जिकिर गर्दै ती विषयको जवाफ दिनुको सट्टा प्रशासनले कर्मचारीले पाउने तलब–सुविधालाई अगाडि सारेर आन्दोलनको औचित्यमाथि प्रश्न उठाउने प्रयास गरेको दाबी गरिएको छ।
स्थानीयवासीहरूको हावाला दिँदै अस्पतालमा विगतमा सार्वजनिक विज्ञापनबिनै कर्मचारी भर्ना गरिएका, पछि उनीहरू स्थायी भएका तथा एकै परिवारका तीन–चार सदस्यसम्म कार्यरत रहेको विषयबारे समेत गम्भीर प्रश्न उठ्दै आएको उल्लेख छ। यस्ता आरोपबारे स्पष्ट जवाफ दिनुपर्ने बेला कर्मचारीको सेवा–सुविधामात्र प्रचार गरिनु प्रशासनको रणनीतिक बचाउ भएको अस्पताल प्रशासनसँग असन्तुष्ट कर्मचारी र स्थानीयहरूले बताएको ती दुई सञ्चार माध्यमले उल्लेख गरेका छन्।
दिनेशखबरको समाचार खण्डन गर्दै लेखिएको समाचारमा ४३ वर्षदेखि सुदूरपश्चिममा आँखा उपचार सेवाको महत्वपूर्ण केन्द्रका रूपमा रहेको गेटा आँखा अस्पताल अहिले आन्तरिक विवादका कारण चर्चामा छ। कर्मचारी, स्थानीय समुदाय र सरोकारवालाले संस्थाको भविष्यप्रति चिन्ता व्यक्त गरिरहेका बेला प्रशासनले आलोचनाको जवाफ पारदर्शी रूपमा दिनुपर्ने माग भइरहेको छ भन्ने दाबी अगाडि सारिएको छ।
यस्तै, दुबै मिडियाले उठेका प्रश्नहरूको तथ्यगत जवाफ दिनुको सट्टा सञ्चारमाध्यममार्फत आफ्नो पक्ष बलियो देखाउने प्रयास गरिनु समस्या प्रति अस्पताल प्रशासन गम्भीर नहुनु हो भन्ने ठहर गरेका छन्।
सनराइज र सुदूरपत्रले आन्दोलनका मूल मुद्दाको सम्बोधन गर्न नसकेपछि प्रशासनले आफू जोगिन दिनेश खबरको सहारा लिएर स्पष्टीकरण दिन दलिल पेश गरेका छन्।
यसरी एक सञ्चार माध्यमा प्रकाशित र प्रसारित समाचारको खण्डन या स्पष्टीकरण अर्को सञ्चार माध्यमले दिनु हुन्न भन्ने पत्रकारिताको न्यूनतम आचारसंहिताको उल्लंघन गर्दै सनराइज टेलिभिजन र सुदूरपत्र अनलाइनले दिनेशखबरमा प्रकाशित समाचार विरुद्ध हुने गरी समाचार सामग्री उत्पादन गर्दै सम्प्रेषण गरेका छन्।
गेटामा कर्मचारीले गरेको आन्दोलनको भिडियो सामाग्री दिनेशखबरमा समेत प्रकाशित छन्। अस्पतालमा भएको आन्दोलनको भोडियो दिनेशखबरले प्रसारण प्रकाशित गर्दै आएको छ। दिनेशखबरमा प्रकाशित समाचारप्रति आपत्ति भएको अवस्थामा दिनेशखबरमै आएर आफ्नो कुरा राख्नुपर्नेमा मिडिया आफैं अग्रसर भएर अर्को सञ्चार माध्यममा प्रकाशित समाचार सामग्रीको खण्डनमै उत्रिनुलाई दिनेशखबरले गम्भीर रुपमा लिएको छ।
एउटा सञ्चार माध्यमले समाचार प्रकाशित गर्ने र कुनै अर्कोले त्यसको खण्डन छाप्ने प्रवृत्तिले पत्रकारितकै गरिमामा आँच आउने दिनेशखबरको ठहर छ।