सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा आँखा अस्पतालमा कर्मचारी–प्रशासनबीच बढ्दाे विवादको भित्री कथा

२०८३ जेठ २७, ०४:०८ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिमको प्रतिष्ठित स्वास्थ्य संस्था गेटा आँखा अस्पतालमा कर्मचारी, स्थानीय बासिन्दा र अस्पताल प्रशासनबीचको विवाद चर्किंदै गएको छ।

कर्मचारी तथा स्थानीय सरोकारवालाले अस्पताल व्यवस्थापन समिति र प्रशासनमाथि वेथिति, विभेद, अपारदर्शिता तथा स्वेच्छाचारी निर्णय गरेको आरोप लगाउँदै सुधारका लागि दबाब दिने भन्दै आन्दोलन गरिरहेका छन्।

सन् १९८२ मा गैरनाफामूलक संस्था नेपाल नेत्रज्योति संघ अन्तर्गत स्थापना भएको गेटा आँखा अस्पतालले सुदूरपश्चिमसहित लुम्बिनी, कर्णाली र भारतका विभिन्न प्रदेशका आँखा रोगीलाई सेवा प्रदान गर्दै आएको छ। अस्पताल र मातहतका उपचार केन्द्रमा हाल करिब १६० जना कर्मचारी कार्यरत रहेको अस्पताल प्रशासनले जनाएको छ।

गेटा आँखा अस्पतालमा मात्रै दैनिक चारदेखि पाँच सयसम्म बिरामीले सेवा लिने यो अस्पतालमा पछिल्लो विवाद जेठ ४ गतेबाट सतहमा देखा परेको हो। गेटा आँखा अस्पताल अन्तर्गत सुदूरपश्चिममा २६ वटा आँखा उपचार केन्द्र तथा डडेल्धुरा,टीकापुर र महेन्द्रनगरमा आँखा अस्पताल सञ्चालित छन्।

गेटा आँखा अस्पताल र मातहतका आँखा उपचार केन्द्रमा कार्यरत कर्मचारीले आर्थिक वर्ष २०८२/८३ मा नेपाल सरकारले बढाएको मासिक तीन हजार महङ्गी भत्ता नपाएको भन्दै पाउनुपर्ने माग राख्दै आएका थिए। महङ्गी भत्ता पाउनुपर्ने भन्दै कर्मचारीले सुरू गरेको आन्दोलनमा अहिले स्थानीयसमेत मिसिन पुगेका छन्। स्थानीयहरूले संघर्ष समिति नै गठन गरेर अस्पताल प्रशासन समक्ष विभिन्न १२ वटा माग राखेका छन्।
 
कर्मचारीहरूको आरोप यस्तो
आन्दोलनमा उत्रिएका कर्मचारीहरूले अस्पताल तथा मातहतका विभिन्न आँखा अस्पताल र उपचार केन्द्रमा कार्यरत कर्मचारीहरूप्रति व्यवस्थापन समिति र प्रशासनले कर्मचारीमैत्री नीति अवलम्बन नगरेको आरोप लगाएका छन्। उनीहरूले अस्पताल प्रशासनले लामो समयदेखि कार्यरत कर्मचारीहरूलाई स्थायी नगरेको, बढुवा प्रक्रिया रोकेको, तालिम तथा अवसर वितरणमा पक्षपात गरिएको, कर्मचारीका जायज मागलाई बेवास्ता गरेको जस्ता आरोप लगाएका छन्। 

कर्मचारीहरूले विगत ६–७ वर्षदेखि विभिन्न मागहरू लिखित रूपमा पेश गर्दै आए पनि सम्बोधन नभएको जनाएका छन्। उनीहरूले सेवा अवरुद्ध नगरी शान्तिपूर्ण आन्दोलन गर्दै १८ बुँदे माग अघि सारेका छन्।

मागहरूमा कर्मचारी प्रतिनिधिलाई निर्णय प्रक्रियामा सहभागी गराउने, अवकाशप्राप्त व्यक्तिलाई नियुक्ति नगर्ने, स्थायी तथा बढुवाको स्पष्ट मापदण्ड बनाउने, ओएनएम सर्वेक्षण सम्पन्न गर्ने, सरुवा तथा कारबाहीका निर्णय फिर्ता लिने, तालिममा समान अवसर सुनिश्चित गर्ने, तलब तथा भत्ता वृद्धि कार्यान्वयन गर्ने लगायतका विषय समावेश छन्।

कर्मचारीलाई समर्थन गर्दै स्थानीयको संघर्ष समिति गठन
जेठ ४ गते कर्मचारीले अस्पताल भित्र सुरू गरेको आन्दोलनमा स्थानीयसमेत जोडिएका छन्। उनीहरूले जेठ १९ गते ‘गेटा आँखा अस्पताल संघर्ष समिति’ गठन गरी आठ बुँदे माग सार्वजनिक गरेका थिए। मङ्गलवारसम्म स्थानीय संघर्ष समितिले आफ्ना मागहरूको संख्या १२ पुगाएको छ।

संघर्ष समितिले कर्मचारीमाथिको प्रशासनिक दमन अन्त्य गर्नुपर्ने, उमेर हद नाघेका चार कर्मचारीलाई अवकाश दिन, नेपाल नेत्र ज्योति संघको आजीवन सदस्यता खुला गर्न, व्यवस्थापन समितिमा ५० प्रतिशत स्थानीय प्रतिनिधित्व सुनिश्चित गर्न, हालको व्यवस्थापन समिति पुनर्गठन गर्न तथा खरिद प्रक्रियामा पूर्ण पारदर्शिता कायम गर्न माग गरेको छ। समितिले आफ्ना माग तीन दिनभित्र सम्बोधन नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी समेत दिएको छ।

के हो अहिलेको विवादको अन्तर्य?
जेठ ४ गते अस्पतालका नेत्र अधिकृत लोक पुन, नेत्र सहायक श्याम बहादुर देउवा र मेडिकल रेकर्डर खेमराज उपाध्यायले कार्यालय समयमा बिहान ९ बजे अस्पतालको सभाकक्षमा कर्मचारीहरूको भेला गर्दै अस्पतालको अत्यावश्यक सेवा अवरुद्ध गरेको अस्पताल प्रशासनको दाबी छ।

उनीहरूले मासिक तीन हजार महङ्गी भत्ता पाउनुपर्ने माग राख्न भेला गरेका थिए। भेला पश्चात् उनीहरूले अमर्यादित हर्कत गरेको, २०८३ को जेठ १५ पछि पूरै वर्षको हुन आउने महङ्गी भत्ता उपलब्ध गराउने र वृद्धि भएको भत्तासमेत दिने जानकारी गर्दागर्दै पनि अस्पतालका प्रमुख मेडिकल निर्देशक र प्रमुख प्रशासकलाई कार्यकक्षबाट जबर्जस्ती बाहिर निकालेर नेत्र अधिकृत लोक पुन र नेत्र सहायक श्यामबहादुर देउवाले तालाबन्दी गरेको अस्पताल प्रशासनको भनाइ छ।

वर्षभरिको महङ्गी भत्ता एकै पटक जेठ १५ गतेपछि उपलब्ध गराउने निर्देशनसहितको केन्द्रको पत्र पढेर सुनाउँदासमेत कर्मचारीहरीले अमर्यादित व्यवहार प्रदशर्न गर्दै कार्यालयमा तालाबन्दी गरेको अस्पताल प्रशासनको दाबी छ।

अस्पतालका अनुसार कर्मचारीहरूले दोस्रो दिन अर्थात् जेठ ५ गते बिहान बाह्य कार्यक्रम व्यवस्थापको कोठामा समेत तालाबन्दी गरेर बाह्य कार्यक्रम सञ्चालनमा अवरोध गरेका थिए। नेत्रज्योति संघले जेठ ६ गते पठाएको पत्रमा आफ्ना माग पूरा भएको भन्दै आन्दोलित कर्मचारीहरूले ७ गते ताला खोलेका थिए।

त्यसपछि जेठ १३ गते अस्पताल प्रशासनले जेठ ४ मा अस्पतालको अत्यावश्यक सेवा अवरुद्ध गरी अस्पतालको अनुमति र पूर्व सूचना बिना कर्मचारीहरूलाई सभाहलमा भेला गराएको, बनेपामा तालिक गर्न पठाएकोमा किन नगएको भन्दै नेत्र अधिकृत लोक पुनलाई स्पष्टिकरण सोधिएको छ। यस्तै, मेडिकल रेकर्डर सहायक खेमराज उपाध्यायलाई पनि अत्यावश्यक सेवा अवरुद्ध गर्दै अस्पतालको अनुमति र पूर्व सूचना बिना कर्मचारीहरूलाई भेला गराएको र पाँच दिनसम्म गैह्रहाजिर किन भएको भन्दै स्पष्टिकरण सोधिएको अस्पताल प्रशासनले बताएको छ।

पुन र उपाध्यायलाई सोधिएको स्पष्टिकरण चित्तबुझ्दो नभएकाले अस्पताल प्रशासनले जेठ १८ गते दुबै जनालाई पुनः स्पष्टिकरणका लागि पत्र दिन खोज्दा उनीहरूले उक्त पत्र बुझ्न नमानेको र अस्पतालमा केही मिडियाहरूलाई बोलाएर पुन र उपाध्यायले अन्य कर्मचारीहरूलाई समेत बोलाएर अमर्यादित शब्द प्रयोग गर्दै धाकधम्की दिएको अस्पताल प्रशासनको दाबी छ। यी सबै कुराको प्रमाण अस्पतालसँग सुरक्षित रहेको समेत बताइएइको छ।

विवाद मिलाउने भन्दै रास्वपा सांसदको इन्ट्री
कर्मचारीहरूको आन्दोलनमा एक्यबद्धता जनाउन रास्वपा सांसद ज्ञानेन्द्र महतासमेत जेठ १९ गते गेटा आँखा अस्पताल पुगेका थिए। कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित महता विवाद समाधान गर्न अस्पताल पुगेका थिए। पत्रकारको पृष्ठभूमि भएका महतालाई धनगढीको पश्चिम टुडेमा सम्पादक समेत रहेका खेमराज उपाध्यायले विवाद समाधान गर्न बोलाएको एक कर्मचारीले बताए। तर यस विषयमा खेमराज उपाध्यायको भनाइ भने सार्वजनिक भएको छैन। यो विषयमा दिनेशखबरबाट फोन गर्दा उपाध्यायको फोन उठेन।

विवाद मिलाउन आएको भनिएका रास्वपा सांसद महता, प्रमुख मेडिकल निर्देशकलाई बाहिर निकालेर व्यस्थापन सिमितिका सदस्य र प्रशासनका कर्मचारीलाई कोठाभित्रै थुनेर स्थानीयले तालाबन्दी गरेका थिए। उनीहरूले त्यसपछि संघर्ष समिति नै गठन गरेर ७ बुँदे माग सार्वजनिक गरेका थिए। उक्त मागहरूको संख्या अहिले बढेर १२ पुगेको छ।

अहिलेको विवादको मुख्य जड के हो?
गेटा आँखा अस्पतालमा विगतदेखि नै कर्मचारीले आन्दोलन गर्ने र अस्पताल प्रशासनलाई आफ्ना माग पूरा गराउँदै आएको इतिहास छ। यो पटक पनि सुरुमा महङ्गी भत्ताको मुद्दा उठाइएको भए पनि दुई वर्ष अगाडि एक गरिएको सरुवालाई रद्द गर्न आन्दोलन मञ्चन गरिएको अस्पताल प्रशासनको दाबी छ।

अस्पतालले मेडिकल रेकर्डर सहायक खेमराज उपाध्यायलाई २०८० असोज ११ गते गेटाबाट सर्जिकल सेन्टर धनगढी सरूवा गरेको थियो। दुई वर्ष अगाडि गेटाबाट धनगढी सरुवा गरिएका उपाध्याय अहिलेसम्म धनगढी सर्जिकल सेन्टरमा हाजिर हुन नगएको अस्पताल प्रशासनको भनाइ छ। समयमा कार्यालयमा हाजिर नहुने उपाध्यायलाई पटकपटक स्पष्टिकरण समेत सोधिएको अस्पतालको दाबी छ।

सन् २०१४ जुन ८ देखि ७ नोभेम्वरसम्म अरबिस कार्यक्रम सञ्चालनका लागि आइटी सहायकमा दुई महिने करारमा भर्ना भएका उपाध्याय उक्त कार्यक्रम सन् २०१५ मा समाप्त भएपछि १ जनवरी २०१६ देखि लागु हुने गरी मेडिकल रेकर्ड किपर पदमा करार सेवामा नियुक्त भएका थिए। उपाध्याय २०७८ बैशाख १ गतेदेखि स्थायी भएका थिए भने उनले सोही वर्ष कर्मचारी युनियन गठन गरी त्यसको अध्यक्ष बनेका थिए।

उपाध्यायलाई मेडिकल रेकर्ड किपर पदमा करार सेवामा नियुक्ति दिँदा विज्ञापन नगरी साेझै नियुक्ति दिइएकाे दाबी गरिएकाे छ। यद्दपी सन् २००९ देखि भर्ना हुने कर्मचारी खुला विज्ञापनबाट नियुक्त भए तापनि उपाध्यायले भने १ जनवरी २०१६ मा साेझै नियुक्ति पाएकाे तथ्य फेला परेकाे छ।    

गेटा आँखा अस्पतालका कर्मचारीले पाउँछन् एक वर्षमा १६ महिनाको तलब!
सेवा सुविधा नपाएको बताएर अन्दोलनमा उत्रिएको बताइए पनि गेटा आँखा अस्पताल र मातहतका इकाइमा कार्यरत कर्मचारीहरूले नेपाल सरकारले तोकेको तलब स्केल पाउने गरेका छन्। सरकारी करमचारीले एक वर्षमा १३ महिनाको तलब पाउने भए पनि गेटाका कर्मचारीहरूले भने वर्षमा १६ महिनाको तलब बुझ्ने गरेका छन्।

अस्पतालमा सहायक स्तरको कर्मचारीको सुरूको तलव ३३ हजार १८० छ भने उनीहरुले ११ हजार ६० रुपैयाँ ग्रेड पाउने गरेका छन्। यस्तै मासिक दुई हजार खाजा खर्च, मासिक तीन हजार महङ्गी भत्ता, एक हजार पाँच सय यातायात खर्च र तलबको १० प्रतिशत सञ्चयकोषमा रकम जम्मा हुन्छ। यस हिसावले सहायकस्तरको कर्मचारीले एक महिनामै ५५ हजार १६४ रुपैयाँ पाउँछन्। यो रकमलाई १६ ले गुणन गर्दा एक जना कर्मचारीले वर्षमा ८ लाख ८२ हजार ६२४ रुपैयाँ आम्दानी गर्छन्।

सोही अनुसार अधिकृत तहका कर्मचारीहरूले महिनाको ५५ हजार ८९४ देखि ९० हजार ७६ रुपैयाद्द हरेक महिना पाउँछन्। त्यसैगरी अस्पतालमा कार्यरत सहायक स्तरका कर्मचारीकाे ७ लाख र अधिकृत स्तरका कर्मचारीकाे १० लाख रुपैयाकाे १५ वर्षे जीवन बीमाकाे ५० प्रतिशत प्रिमियम अस्पतालले तिर्ने गरेकाे छ। भने अस्पतालका हरेक कर्मचारीकाे १५ लाख रुपैया बराबरकाे दुर्घटना बीमाकाे शत प्रतिशत प्रिमियम अस्पतालले तिर्ने गर्दछ। 

सुशासन र पारदर्शिताको माग गर्दै स्थानीयले समेत कर्मचारीको आन्दोलमा साथ दिए पनि अस्पतालमा सार्वजनिक विज्ञापन नगरेरै समेत कर्मचारी भर्ना गरेर उनीहरू अहिले स्थायी भएका छन्। यस्तै, एकै परिवारका तीन/चार जनाले समेत गेटा आँखा अस्पतालमा जागिर खाँदै आएको केही स्थानीयको भनाइ छ।

यसरी ४३ वर्षदेखि आँखा उपचारमा योगदान दिइरहेको गेटा आँखा अस्पतालमा चुलिएको किचलोले अस्पतालकै भविष्य खतरामा परेको भन्दै चिन्ता व्यक्त गरिएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस