‘ए जात्की’ डोटेली भाषाको म्युजिक भिडियो सार्वजनिक
डोटी: सुदूरपश्चिमको मौलिक भाषा, संस्कृति तथा डेउडा परम्पराको संरक्षण गर्ने उद्देश्यले डोटेली भाषाको नयाँ म्युजिक भिडियो ‘ए जात्की’ सार्वजनिक गरिएको छ। उक्त गीत सुदूर पश्चिम एभरेस्ट युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो।
गीतका निर्माता तथा कलाकार पुष्कर अवस्थीका अनुसार डोटी लगायत सुदूरपश्चिमका विभिन्न क्षेत्रमा युवायुवतीलाई सम्बोधन गर्न प्रयोग गरिने ‘जात्का–जात्की’ शब्द हाल प्रयोगबाट क्रमशः लोप हुँदै गएको अवस्थामा यसको संरक्षण तथा प्रवर्द्धनका लागि गीत निर्माण गरिएको हो। साथै नवयुवायुवतीबीचको प्रेम प्रसङ्गलाई डेउडा भाकामार्फत मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने प्रयास गरिएको उनले बताए।
गीतमा सुमधुर स्वरका धनी गायक रेश बी.सी. र गायिका रेखा जोशीको स्वर रहेको छ। म्युजिक भिडियोमा पुष्कर अवस्थी, चक्रवीर भण्डारी, मनिषा रावल तथा रेखा धानुकको अभिनय रहेको छ।
भिडियोको निर्देशन भीम बिष्ट (अछामी रेखा) ले गरेका छन्। मौलिक डोटेली भाषा, संस्कृति र डेउडा संगीतप्रेमीका लागि ‘ए जात्की’ विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।