सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको सत्ती भन्सार कार्यालयमा ट्रयाक्टरको ट्रली लिलाममा मिलेमतोको आरोप

२०८३ जेठ २४, १२:५६ नारायण अवस्थी

धनगढीः कैलालीको सत्ती भन्सार कार्यालयले ट्रयाक्टरको ट्रली लिलाम गर्दा मिलेमतो गरेको दाबी गरिएको छ। भन्सार कार्यालयले २०८० जेठ २९ गते बरामद गरेको ट्रयाक्टरको ट्रलीसहितका अन्य सामान लिलाम गर्न यही जेठ ११ गते सार्वजनिक सूचना निकालेको थियो।

भन्सार कार्यालयले निकालेको सूचनामा ट्र्याक्टरको ट्रलीको न्यनतम लिलाम मूल्य एक लाख ९५ हजार तोकिएकोमा मिलेमतोमा सोही भन्सार कार्यालयमा भन्सार एजेन्डको काम गर्ने चन्द्र धामीलाई बिक्री गरेको भन्दै लिलामीको सामान खरिद गर्न चाहने व्यक्तिहरुको आरोप लगाएका हुन्। उनीहरूले भन्सार कार्यालयका निमित्त प्रमुख चक्रबहादुर सोनी र धामीले मिलेमतोमा एक लाख ९५ हजार न्यूनतम मूल्य तोकिएको ट्रली ९५ हजार पाँच सयमा लिलाम गरेको दाबी गरेका हुन्।

उक्त ट्रली चन्द्र धामीले नै भ्याटसहित एक लाख सात हजार ९१५ रुपैयाँमा सकारेका हुन्। भन्सार प्रतिनिधिको काम गर्ने धामी रास्वपा टीकापुर नगरपालिका वडा नम्बर ९ का सभापतिसमेत हुन्।

धामीले कार्यालय प्रमुखसँग मिलेमतो गरेर तोकिएको मूल्यभन्दा ७६ हजार घटीमा ट्रली खरिद गरेको दाबी गरिएको छ। तर, धामीले भने ट्रली खरिद गर्दा मिलेमतो भएको कुरा अस्वीकार गरेका छन्।

उनले जेठ ११ गते सत्ती भन्सार कार्यालयले निकालेको सूचनामा ट्रलीको न्यूनतम मूल्य ९५ हजार लेखिनुपर्नेमा एक लाख ९५ हजार लेखिएको बताएका छन्। उनले भने, 'ट्रली खरिदमा कुनै मिलेमतो भएको छैन। सूचना निकाल्दा ९५ को अगाडि १ लेखिएकाले प्रश्न उब्जिएको हो। हामीले मिलेमतो गरेको भन्ने आरोप असत्य हो।'

यता सत्ती भन्सार कार्यालयका निमित्त प्रमुख सोनीले पनि सूचना लेख्दा त्रुटि भएको बताएका छन्। उनले लिलामको काम कानुन सम्मत नै भएकाले प्राविधिक रुपमा भएको त्रुटि देखाएर त्यत्रो सामान लिलाम गर्दा एउटा ट्रलीमा मात्रै मिलेमतो भएको भन्ने आरोप पूर्वाग्रहपूर्ण रहेको बताए।

'सूचना टाइप गर्दा ९५ को अगाडि १ लेखिएको रहेछ। तर हामीले जेठ ८ गते लिलामीका लागि गरेको माइन्यूटमा ट्रलीको मूल्य ९५ हजार छ,' उनले भने, 'मिलेमतो भएको छैन, भन्सारको लिलामी गर्दा यो पटक सबै सामानको न्यूनतम रकम नै बढी राखिएको हो।'

भन्सार कार्यालयले सार्वजनिक गरेको सूचनामा ट्रलीको मूल्य एक लाख ९५ हजार रुपैयाँ कायम गरिएको उल्लेख छ भने भन्सार कार्यालले लिलामीको माइन्यूटमा भने उक्त ट्रलीको लिलाम मूल्य ९५ हजार नै कायम गरिएको व्यहोरा उल्लेख छ।

निर्णयमा कम मूल्य कायम गरेर सूचना निकाल्दा बढी मूल्य कायम गरेको देखाएर लिलाम गर्दा फेरि ९५ हजार मूल्यका आधारमा चन्द्र धामीले जेठ १८ गते उक्त ट्रली ९५ हजार पाँच सय रुपैयाँमा सकारेका छन्। उनले भ्याटसहित भन्सार कार्यालयमा एक लाख सात हजार ९१५ रुपैयाँ दाखिला गरेका छन्।

सात दिनको म्याद राखेर निकालिएको सूचनामा अरूलाई लिलामी प्रक्रियामै भाग लिन नदिने किसिमले भन्सार कार्यालय र चन्द्र धामीले चलखेल गरेको स्थानीयको आरोप छ। तर भन्सार कार्यालय र धामीले भने स्थानीयले लगाएको आरोपमा कुनै सत्यता नभएको बताएका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस