सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भोलिदेखि सातदिने ‘ड्रिम एजुकेसन एब्रोड शैक्षिक मेला’ सुरु हुँदै

२०८३ जेठ २३, ०२:२३ खबर संवाददाता

धनगढी: उच्च शिक्षाका लागि विदेश अध्ययनको तयारी गरिरहेका विद्यार्थी तथा अभिभावकलाई लक्षित गर्दै धनगढीमा भोलिदेखि सातदिने ‘ड्रिम एजुकेसन एब्रोड शैक्षिक मेला’ आयोजना हुने भएको छ।

ड्रिम एजुकेसन फाउन्डेसनको आयोजनामा सञ्चालन हुन लागेको उक्त मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। फाउन्डेसनका प्रबन्ध निर्देशक हेमन्त रेग्मीका अनुसार मेलाले विद्यार्थीहरूलाई विदेश अध्ययनसम्बन्धी सही, विश्वसनीय तथा अद्यावधिक जानकारी उपलब्ध गराउने उद्देश्य राखेको छ।

मेलामा विभिन्न देशका विश्वविद्यालय तथा कलेजका प्रतिनिधि, शैक्षिक परामर्शदाता तथा अध्ययन अवसरसम्बन्धी विज्ञहरूको सहभागिता रहने जनाइएको छ। सहभागी विद्यार्थीहरूले अध्ययन गन्तव्य छनोट, भर्ना प्रक्रिया, छात्रवृत्ति, भिसा प्रक्रिया, भाषा परीक्षा तथा अध्ययनपछिका अवसरबारे प्रत्यक्ष परामर्श लिन सक्नेछन्।

आयोजकका अनुसार मेलामा विशेषगरी अष्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका, जापान र दक्षिण कोरियालगायत लोकप्रिय अध्ययन गन्तव्यका विषयमा विस्तृत जानकारी प्रदान गरिनेछ। साथै, विदेश अध्ययनसम्बन्धी भ्रम र अन्योलता हटाउन मेला प्रभावकारी हुने विश्वास गरिएको छ।

सुदूरपश्चिम प्रदेशका विद्यार्थीलाई आफ्नै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक परामर्श सेवा उपलब्ध गराउने उद्देश्यसहित आयोजना गरिएको मेलामा विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रमा रुचि राख्ने सबैलाई सहभागी हुन आग्रह गरिएको छ।

मेलामा सहभागीहरूले विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर पाउनुका साथै विशेष अफर तथा परामर्श सेवाबाट समेत लाभ लिन सक्ने आयोजकले जनाएको छ। विद्यार्थी तथा अभिभावकमाझ मेलाप्रति उत्साहजनक चासो देखिएकाले उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
 

कमेन्ट लोड गर्नुस