सुदूर नेपाललाई विश्वसँग जोड्दै

डा.भट्टले गरे प्राज्ञ सभा सदस्य पद अस्वीकार

२०८३ जेठ २०, ०८:४४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य डा. देवेन्द्रप्रसाद भट्टले आफ्नो पदबाट राजीनामा दिएका छन्।

सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकारलाई सम्बोधन गर्दै उनले प्राज्ञ सभा सदस्य पद अस्वीकार गरेको जानकारी गराएका हुन्। जेठ २० गतेको मितिमा लेखिएको पत्रमार्फत भट्टले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, संवर्द्धन र विकासका लागि स्थापित प्रतिष्ठानजस्तो विशिष्ट प्राज्ञिक संस्थामा योग्यता, विद्वता, सिर्जनात्मक योगदान र प्राज्ञिक क्षमताको सम्मान हुनुपर्ने उल्लेख गरेका छन्।

राजीनामा पत्रमा उनले संस्थाभित्र प्राज्ञिक योग्यता, योगदान र वरिष्ठताको अपेक्षित सम्मान तथा कदर नभएको अनुभूति भएको बताएका छन्। साथै प्राज्ञिक मूल्य–मान्यता र संस्थागत गरिमासम्बन्धी केही विषयमा आफू गम्भीर असहमत रहेको पनि उल्लेख गरेका छन्।

भट्टले उक्त पद स्वीकार नगर्ने अडानसहित सम्मानपूर्वक अलग हुने निर्णय गरेको जनाउँदै आफूलाई प्रदान गरिएको प्राज्ञ सभा सदस्यको जिम्मेवारी अस्वीकार गरेको स्पष्ट पारेका छन्।

उनले आफ्नो निर्णय कुनै व्यक्ति विशेषप्रति लक्षित नभई प्राज्ञिक मूल्य, सिद्धान्त र आत्मसम्मानको संरक्षणसँग सम्बन्धित रहेको बताएका छन्। साथै नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको उन्नयनमा प्रतिष्ठानले भविष्यमा निष्पक्षता, योग्यताको सम्मान र प्राज्ञिक मर्यादालाई उच्चतम प्राथमिकता दिने विश्वास व्यक्त गरेका छन्।

यसअघि रामप्रसाद अवस्थीले पनि प्राज्ञ सदस्य पदमा गरिएको नियुक्ति अस्वीकार गर्ने घोषणा गरेका थिए। अवस्थीले प्रतिष्ठानको नेतृत्व चयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पद अस्वीकार गरको सार्वजनिक घोषणा गरेका हुन्।

कमेन्ट लोड गर्नुस