सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–कञ्चनपुरमा ६ लाखभन्दा बढीका भन्सार छलीका सामान नियन्त्रणमा

२०८३ जेठ २०, ०८:३२ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलीका ६ लाखभन्दा बढी मूल्यका सामान नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१८ डिपो बजार, भजनी नगरपालिका–५ मिलनपुर तथा वडा नम्बर ६ महादेली क्षेत्रबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका अन्दाजी ४ लाख ४३ हजार ८ सय ५० रुपैयाँ बराबरका चिनी, सुर्ती, वायरिङ पाइप, फलामका जन्जिर, ट्र्याक्टरका विभिन्न पार्टपुर्जा तथा एक थान मोटरसाइकल लगायतका सामान बरामद गरिएको हो। मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।

त्यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बजार, वडा नम्बर १० गज्जर तथा बेलडाँडी गाउँपालिका–२ क्षेत्रबाट अन्दाजी २ लाख ४० हजार ९ सय रुपैयाँ बराबरका पेय पदार्थ, विभिन्न किसिमका कपडा तथा एक थान मोटरसाइकल लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतबाट खटिएको प्रहरी टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस