कञ्चनपुरमा कोल्ड स्टोर नचल्दा आलु किसान मारमा, करोडौँको लगानी उपयोगविहीन
कञ्चनपुर: आलुको उत्पादन राम्रो भए पनि भण्डारणको अभावमा कञ्चनपुरका किसानहरू सस्तो मूल्यमा आलु बेच्न बाध्य भएका छन्। शीतभण्डार (कोल्ड स्टोर) निर्माणमा तीनै तहका सरकारले करोडौँ रुपैयाँ लगानी गरे पनि ती संरचना सञ्चालनमा नआउँदा किसान प्रत्यक्ष रूपमा प्रभावित बनेका हुन्।
दोधारा चाँदनी–८ का किसान प्रेम रोकायाले यस वर्ष पाँच कट्ठामा गरेको आलुखेतीबाट राम्रो उत्पादन भएको बताए। तर भण्डारण गर्ने ठाउँ नहुँदा प्रतिकिलो १५ रुपैयाँमै आलु बेच्नुपरेको उनको गुनासो छ। बिउका लागि छुट्याएर राखेको आलु समेत कुहिन थालेपछि आगामी सिजनका लागि पुनः महँगोमा बिउ किन्नुपर्ने अवस्था आएको उनले बताए।
यो समस्या दोधारा चाँदनीमा मात्र सीमित छैन। बेदकोट नगरपालिका–७ का किसान आर्यन डगौराका अनुसार कोल्ड स्टोर बन्द भएपछि आलु भण्डारणका लागि कैलालीसम्म लैजानुपर्ने बाध्यता छ। ढुवानी, मजदुरी र भण्डारण खर्च जोड्दा प्रतिक्विन्टल करिब एक हजार रुपैयाँ खर्च हुने गरेको उनले बताए। यसै कारण धेरै किसानले आलुखेती छोडिसकेका छन् भने कतिपय छोड्ने तयारीमा छन्।
प्रदेश सरकारले दोधारा चाँदनी र पुनर्वासमा कोल्ड स्टोर निर्माणका लागि एक करोड १४ लाख रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ। संघीय सरकार र स्थानीय तहको समेत जोड्दा कञ्चनपुरमा मात्रै कोल्ड स्टोरका लागि २० करोडभन्दा बढी लगानी भइसकेको छ। तर तीन वर्षअघि निर्माण सम्पन्न भएको दोधारा चाँदनीको कोल्ड स्टोर अझै सञ्चालनमा आएको छैन।
पालिकाले थ्री–फेज विद्युत् लाइन नपुगेको कारण देखाए पनि किसान भने सरकारी बेवास्ताका कारण आफूहरू सास्ती खेप्न बाध्य भएको बताउँछन्। दीर्घकालीन सञ्चालन योजना बिना संरचना निर्माण गर्दा सरकारी लगानी खेर जाने र किसानले लाभ नपाउने अवस्था दोहोरिन सक्ने उनीहरूको चिन्ता छ।