सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा नेताको दवावपछि सरुवा गरिएका सिडिओको स्थानीयद्वारा बाजागाजा सहित विदाई

सरुवाको कारण बन्यो डोजर

२०७६ भदौ १५, ०४:१० डीवि विष्ट

बझाङ–प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको जिल्लावासीले फुलमाला र बाजागाजा सहित बजार परिक्रमा गर्दै भब्य विदाई गरेका छन्। जिल्ला प्रशासन कार्यालय बझाङबाट मोरङ जिल्लामा सरुवा भएका प्रमुख जिल्ला अधिकारी सुनारलाई जिल्लाका स्थानीयले बाजागाजा सहित सदरमुकाम चैनपुर परिक्रमा गराउदै विदाई गरेका हुन्।

बझाङ जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारीलाई बाजागाजा सहित फुलमालाले विदाई गरेको यो पहिलो पटक हो। फागुन महिनामा बझाङ पुगेका सुनारेले नेताको दवावमा नपरी नागरीकको सेवामा तल्लीन भएर लागेका कारण र ईमान्दार भएर काम गरेको भन्दै फुलमाला सहित विदाई गरेको सदरमुकाम चैनपुरका दिवसचन्द स्नेहीले बताए।

उनले भने–‘यो भन्दा अघि धेरै प्रमुख जिल्ला अधिकारीहरु पनि आएगए उनीहरुले गर्ने काम भन्दा सुनारले गरेका हरेक कामहरु बेग्लै छन्, नागरीकता दिनु मात्रै ठुलो कुरा होईन सुनारले जिल्लाको लागि गरेको धेरै राम्रो अन्य कामहरु पनि छन्।’

जथाभावि निर्माण गरिने सडकमा उनले निगरानी राख्न खोज्दा जिल्ला स्थित स्थानीय सरकारका जनप्रतिनिधिसंगै प्रदेश र संघीय सरकारका सासंदले पनि उनको सरुवाका लागि दवाव दिएका थिए।जिल्लाको साईपाल गाँउपालिकामा पुग्ने पनि उनी पहिलो प्रमुख जिल्ला अधिकारी हुन्। 

उनले साईपाल गाँउपालिकामा पुगेर नागरीकता वितरण गरेको साईपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए। फागुन महिनामा बझाङ पुगेका प्रमख जिल्ला अधिकारी सुरेश सुनार नेपाल भरिका कान्छा सिडीओ पनि हुन्।

सरुवाको कारण बन्यो डोजर
प्रमुख जिल्ला अधिकारी सुनारको सरुवाको कारण डोजर बनेको छ। सुनारले डोजर नियमनको लागि अग्रसरता लिएपछि यहा“का जनप्रतिनिधी रुष्ट भएका हुन। सिडिओ प्रति रुष्ट भएका जनप्रतिनिधीहरु उनको सरुवाको माग गर्दै दिनहुँ जसो गृह मन्त्रालय धाउन थालेपछि उनको सरुवा भएको हो। 

२०७५ फागुन १७ गते बझाङको प्रमुख जिल्ला अधिकारीे भएर आएका सुनारले २०७६ जेठबाट डोजर नियमनको प्रयास गरेका थिए। निर्माण गर्नु पुर्व सम्भाव्यता अध्ययन, डिजाइन स्टेमेट नगरिएका, वातावरणिय प्रभाव अध्ययन नगरीकन हचुवाको भरमा काम थालिएका सडकमा लगाईका सबै डोजरहरु तत्काल बन्द गर्न जिल्ला प्रशासन कार्यालयले बझाङका सबै स्थानिय तहलाई पत्राचार गरिएको थियो।

विना कुनै सर्वे डिजाईन जथाभावी डोजर संचालन गरी बनाईका सडकका कारण जिल्लाका थुप्रै गाउ“ जोखिममा परेको, जिउधनको जोखिम बढेको र महिनै पिच्छे सडक दुर्घटना हुनथाले पछि जिल्ला प्रशासन कार्यालयले डोजर नियन्त्रणको प्रयास थालेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए। 

नेपाल सरकारले २०७५ फागुन १ गतेबाट लागु हुने गरि एक करोड भन्दा कम रकमका योजनामा डोजर प्रयोग नगर्न दिएको निर्देशन समेत अवज्ञा गरिएको थियो। यस्तै तत्कालीन प्रहरी नायब उपरिक्षक प्रविण धितालको समेत यहाँका केही जनप्रतिनिधीहरुले सरुवा गराएका थिए। आफु सुहाउदो काम नगर्दा धेरै जस्तो कार्यालय प्रमुखहरुको यहाँका जनप्रतिनीधीहरु मिलेर सरुवा गराउने गरेका छन्। 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस